मोदी भोलि ५ घण्टाका लागि लुम्बिनी आउने
मोदीको स्वागतका लागि देउवा आजै लुम्बिनीमा, ५ वटा विषयमा सम्झौता हुने गरी तयारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ५ घण्टाका लागि नेपाल भम्रणमा आउन लागेका छन् । उनी धार्मिक सदभावना भ्रमणका लागि काठमाडौं नभई लुम्बिनीमा आउन लागेका हुन् ।
बौद्द जयन्तीका अवसर पारेर उनी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने छन् । उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो ।
मोदीसँगको भेटका लागि नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा आइतबार नै लुम्बिनी पुगिसकेका छन् । दिल्लीबाट कुशीनगरमा मोदी आउने र त्यहाँबाट विहान ११ बजे हेलिप्याडबाट लुम्बिनी मा अवतरण गर्नेछन् । त्यहाँ मोदीलाई प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण लगायतले स्वागत गर्ने कार्यक्रम छ ।
दुई वर्ष अगाडी नै मोदी लुम्बिनी आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
भ्रमण अघि मोदीले वक्तब्य दिएर आफु उत्साहित भएको जनाएका छन् । ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियोस त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’
भ्रमणका क्रममा ५ वटा सम्झौता हुने बताईएको छ ।
प्रतिक्रिया