शनिबार, वैशाख १९, २०८३

मोरङको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित पाँचविरूद्ध भ्रष्टाचारको मुद्दा

मेरोन्यूज २०७९ जेठ ११ गते २०:०८

काठमाडौं । मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता सामूहका तत्कालीन अध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

Advertisement
NiccNicc

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध बुधबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, तत्कालीन सचिव देविन्द्र कार्की, तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकाल, तत्कालीन आपूर्ति संयोजक सामप्रसाद पौडेल र प्रोप्राइटर (लेखापरीक्षक) चन्द्रबहादुर बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। 

तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा संस्थालाई नोक्सानी गरी आफूलाई फाइदा पुर्‍याएको भन्ने उजुरी परेको थियो। 

उनीहरूले कानुनविपरीत फर्जी बिल भरपाई गरी वन कार्यालयको कुनै पनि निकायसँग समन्वय नगरी आफूखुसी अवमूल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रूपमा मूल्यांकन गर्ने, परिमाण घटाएर बिक्री वितरण गरेको अख्तियारको दाबी छ।

तत्कालीन अध्यक्ष लावतीविरूद्ध ९ लाख ७७ हजार ३४९ रुपैयाँ, सचिव कार्कीविरूद्ध ८ लाख १६ हजार ७४९, कोषाध्यक्ष ढकालविरूद्ध ७ लाख २ हजार ३४९ र आपूर्ति संयोजकविरूद्ध ३ लाख ८४ हजार १४९रुपैयाँ बराबरको बिगोसहित कैद सजायको माग गरेको छ। लेखापरीक्षक बस्नेतविरूद्ध पनि कैद र जरिवानाको मागदाबी गरेको छ। 

प्रतिक्रिया