सोमबार, चैत ३०, २०८२

कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार दाहाल र आचार्यलाई

मेरोन्यूज २०७९ जेठ १३ गते १२:४७

काठमाडौं । प्रेस सेन्टर नेपालले शहीद पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापना गरेको सेन स्मृती पत्रकारिता पुरस्कार महेश्वर दाहाल र गोविन्द आचार्यलाई दिईएको छ । सेनको २० औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टरले संगठनका सस्थापक संयोजक दाहाल र सस्थापक तथा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष आचार्यलाई पुरस्कृत गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको उक्त पुरस्कारबाट पुरस्कृत गरिएको प्रेस सेन्टरले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।

अघिल्लो वर्ष कोभिडका कारण पुरस्कार वितरण गर्न नसकिएकोले दुई वर्षको पुरस्कार आजै वितरण गरिएको हो ।

पुरस्कार छनौटका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी, गोविन्द देवकोटा र गंगा बराल रहेको समिति बनाएको थियो । सोही समितिले आचार्य र दाहाललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सेन्टरले दिवंगत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरेको शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ । यो पुरस्कारबाट पनि २०७८ सालको पत्रकार वलराम थापा र २०७९ सालको लक्ष्मी पुन पुरस्कृत भएका छन् । पुरस्कारको राशी २५ हजार रुपैयाँको छ ।

को हुन् पुरस्कृत पत्रकारहरु ?

महेश्वर दाहाल

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट प्रेस सेन्टर नेपालका संस्थापक संयोजक महेश्वर दाहाल पुरस्कृत भएका हुन् । २०४५ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका दाहालले नेपालबाट प्रकाशित हुने जनादेश, जनदिशालगायत झण्डै एक दर्जन पत्रपत्रिकाको नेतृत्वका साथै भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाको पनि सम्पादकीय नेतृत्व गरेर जनपक्षीय पत्रकारितामा योगदान गरेका छन् । हाल प्रेस सेन्टर नेपालको इन्चार्जको रहेका उनले समयबद्ध साप्ताहिकका साथै झिल्को अनलाइनको सम्पादकीय नेतृत्व गर्दै आएका छन् ।

दाहाल प्रेस सेन्टर नेपालको संस्थापक संयोजक, पूर्वअध्यक्षका साथै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणपछि बनेको प्रेस संगठन नेपालको झण्डै तीन वर्ष संयोजक भएर नेतृत्व गरिसकेका छन् ।

गोविन्द आचार्य

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य पुरस्कृत भएका हुन् । आचार्य विगत ३० वर्षदेखि निरन्तर पत्रकारितामा संग्लन्न हुँदै आएका छन् । प्रेस सेन्टर नेपालको संस्थापक रहेका आचार्यले यो संस्थाको नेतृत्वमात्रै नभएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पनि नेतृत्व गरिसकेका छन् ।

२०४४ सालमा कृष्ण सेन इच्छुकले संगठित गरेर यो अभियानमा लागेका आचार्यले २०४९ मा जनादेश साप्ताहिकमार्फत् पत्रकारिता सुरु गरेका थिए । त्यसपछि उनी ०५४ सालमा त्यही पत्रिकाको कार्यकारी सम्पादक र ०५८ सालमा कृष्ण सेनपछिको सम्पादकको रुपमा काम गरेका थिए ।

पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारसमेत भइसकेका उनले मातृभूमि, जनदिशालगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।

बलराम थापा

शक्ति–तारा स्मृति पुरस्कार २०७८ बाट लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका नेता बलराम थापालाई सेन्टरले सम्मान गरेको छ। २०४८ सालमा आँकुरा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा आवद्ध भएर पत्रकारिता सुरु गरेका थापाले चौतारी मासिक, पौरख, नयाँ जनवाद मासिक, प्रत्याक्रमण, महिमा, जलजला, जनादेशलगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरेका थिए । प्रेस सेन्टर नेपालको स्थापना पहिले उनले जनपक्षीय पत्रकार संघ २०५४ र प्रगतिशील पत्रकार समूह २०५१ को संस्थापक सदस्यको रुपमा समेत काम गरेका हुन् ।

लक्ष्मी पुन

शक्ति–तारा स्मृति पुरस्कार २०७९ बाट पत्रकार लक्ष्मी पुनलाई सम्मान गरिएको छ। २०५६ सालमा भारतको गोवाबाट प्रकाशित हुने भास्को इन्साइडबाट पत्रकारिता सुरु गरेकी पुनले रेडियो जनगणतन्त्र मगराँत प्रसारण केन्द्रमा काम गरेकी छिन् । जनउभार, जनसन्देश, नेपाल टेलिभिजन, द वाल्करलगायतका सञ्चारमाध्यममा क्रियाशील रहिसकेकी पुन प्रेस सेन्टर नेपालको पूर्वपदाधिकारीका साथै नेपाल पत्रकार महासंघको निवर्तमान सचिवसमेत हुन् ।

प्रतिक्रिया