बिहीबार, माघ ८, २०८२

घाँस काट्न गएकी महिलाको बाघले खाइदियो

मेरोन्यूज २०७९ जेठ १६ गते १८:२४

काठमाडौँ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका १ की ५५ वर्षीय सोतीमाया तामाङलाई बाघले खाँदा मृत्यु भएको हो ।

सोमबार अपरान्ह करिब ४ बजे तामाङलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

टोलीले शव जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।

प्रतिक्रिया