आइतबार, पुष १३, २०८२

आँखा शिविरबाट ७५७ जनाले पाए सेवा

मेरोन्यूज २०७९ जेठ १७ गते २१:३८
फाइल फोटो

बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ७५७ जना लाभान्वित भएका छन् । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजनामा तीन दिनसम्म चलेको उक्त शिविरमा मोतियाबिन्दु भएका ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

केन्द्र व्यवस्थापन समितिका सदस्यसचिव आमोदकुमार सिंहले शल्यक्रिया गरेका बिरामीलाई औषधि र चश्मा निःशुल्क वितरण गरिएको जानकारी दिए । शिविरमा आएका स्थानीयवासीलाई आँखाको सुरक्षाबारे समेत जानकारी दिइएको थियो ।

शिविरमा श्रीकृष्ण नेत्रालय, भैरहवाका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायत चिकित्सक÷स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए । श्रीकृष्ण नेत्रालयको प्राविधिक र घुम्टे युवा परिवार जापान शाखाको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

यस्तै, शल्यक्रिया सेवाका लागि हरि कृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ बुटवल, मणिउजेशले सहयोग गरेको थियो । गाउँका बिरामीलाई लक्ष्य गरी डेढ वर्षअघि मल्ममा श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।

केन्द्रले स्थानीय स्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्दै आएको छ । सुरुदेखि नै केन्द्रलाई चाहिने उपकरणदेखि कर्मचारीको प्रबन्ध श्रीकृष्ण नेत्रालयले नै गर्दै आएको छ ।

केन्द्रबाट आँखाको जाँच र उपचार नियमित हुँदै आए पनि शल्यक्रिया सेवा भने शिविरका बेला मात्र प्रदान गर्ने गरिएको छ । नेत्र विशेषज्ञ डा. सल्मा केसीले दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार केन्द्रबाट भइरहेको बताए ।

प्रतिक्रिया