बिहीबार, माघ ८, २०८२

कैद भुक्तानीमा दोषीलाई उन्मुक्ति, युवकको आत्महत्यापछि अनुसन्धान टोलीको लर्को

मेरोन्यूज २०७९ जेठ २१ गते १६:१७

काठमाडौँ । गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायले स्थलगत अनुसन्धान सुरु गरेका छन् ।

सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगञ्ज उपमहानगर २ घरवारी टोलका सुन्दर हरिजनले उक्त कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।

घटनापछि मात्रै एक व्यक्तिको नामको कैद अर्को व्यक्तिले भुक्तान गरेको रहस्य खुलेको थियो । सो घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारको मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरिएको छ ।

समितिका सदस्यहरू शनिबार रोल्पा पुग्ने कार्यक्रम छ । यसअघि कारागार व्यवस्थापन विभागका निर्देशक झकेन्द्र चापागाईंको नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले नेपालगञ्ज क्षेत्रीय कार्यालयका उपसचिव झंकरबहादुर रावलको नेतृत्वमा समिति गठन गरी बिहीबारदेखि अनुसन्धान सुरु गरेको छ । समितिको टोलीले स्थानीय प्रशासन, सुरक्षा अधिकारी, कारागार प्रशासनसँग शुक्रबार भेटघाट तथा छलफल गर्नाका साथै सोहीदिन जिल्लाका नागरिक समाज, पत्रकारसँग समेत छलफल गरेको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत नेतृत्वको टोलीले समेत अनुसन्धान थालेको छ । उसले रोल्पा कारागार, त्यहाँका कैदी, कारागार अधिकारी, स्थानीय प्रशासन, प्रहरीलगायतसँग पनि छलफल गरेको थियो ।

पत्रकार तथा नागरिक अगुवासँग भएको छलफलमा उपसचिव रावलले गम्भीर मानवअधिकार उल्लंघनको विषय भएकाले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको बताए । आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सरकारलाई सचेत बनाउने गरी प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

‘कैदीको पनि मानवअधिकार हुन्छ, जेलमा आएको व्यक्तिले किन आत्महत्या रोज्यो यो गम्भीर विषय हो,’ उनले भने, ‘आत्महत्या गर्नेसम्मको अवस्था कसरी सृजना भयो यो पनि अनुसन्धानको विषय हो ।’

निकै पुरानो संरचना रहेको रोल्पा कारागारमा ३५ पुरुष र १५ महिलासहित ५० जनाको क्षमता भए पनि हाल १०३ पुरुष र १० महिलासहित ११३ कैदीबन्दी राखिएको छ ।

प्रतिक्रिया