बिहीबार, माघ २२, २०८२

कांग्रेसको चुनावी प्रतिवेदन

गठबन्धनबाट कुन दललाई कति लाभ ? (सूचीसहित)

मेरोन्यूज २०७९ जेठ २६ गते १७:५६

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धन दल नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गरेका छ । पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

उक्त प्रतिवेदनअनुसार नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट सबैभन्दा बढी लाभ पाएको छ । यसबारे नेता पौडेलले गठबन्धनका कारणले कांग्रेसको परिणामलाई घटाएको वा घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पारेका छन् ।

स्थानीय निर्वाचनका लागि पाँच दलीय गठबन्धनले ३२४ स्थानीय तहमा चुनावी तालमेल गरेको थियो । जसमध्ये कांग्रेसले २०९ स्थान तहको प्रमुख पाए पनि १२८ स्थानमा मात्रै जित हात पारेको थियो । यस्तै, ११५ उपप्रमुख पाएकोमा ८५ स्थानमा जितेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी, गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ८१ स्थानीय तहको नेतृत्व पाएको थियो । जसमा ६९ स्थानीय तहको नेतृत्वमा जित हात पारेको थियो । माओवादीले गठबन्धनबाट पाएको १४१ उपप्रमुख पदको प्रतिस्पर्धामा ७९ स्थानमा जित हात पारेको छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट २७ पालिका प्रमुखको स्थान पाएको थियो । जसमा पोखरा महानगरको प्रमुखसहित १३ स्थानको प्रमुखमा जित हात पारेको छ । यस्तै, ४३ उपप्रमुख पाएकोमा १४ स्थानमा मात्रै जित हासिल गरेको छ ।

गठबन्धनबाट शतप्रतिशत नतिजा राष्ट्रिय जनमोर्चाले पाएको छ । जनमोर्चाले गठबन्धनबाट प्रतिस्पर्धा ४ प्रमुख पद पाएको थियो जसमा सबै स्थानमा जित हात पारेको छ । उपप्रमुखमा ६ स्थान पाएकोमा ३ स्थानमा मात्रै जनमोर्चाका उम्मेदवार विजयी भए ।

गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले ४ प्रमुख र ३ उपप्रमुखमा स्थान पाएको थियो । जसमा उसले गठबन्धनबाट २ प्रमुखमा जित हासिल गरेको छ ।

कांग्रेसको प्रतिवेदनअनुसार कांग्रेसले १४१ स्थानमा नगरप्रमुख, १८८ स्थानमा गाउँपालिका अध्यक्ष, ११० स्थानमा नगर उपप्रमुख र १९० स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको छ ।

यसैगरी, दुई हजार ६६५ वडाध्यक्ष, दुई हजार ६०६ महिला सदस्य, दुई हजार ५५१ दलित महिला सदस्य र पाँच हजार ३०७ खुला सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया