ओली - पत्रकार सवाल जवाफ
संविधान बङ्ग्याएको मात्र होइन, तोडमोड, भाँचकुच, च्यातचुत धेरै भएको छ : ओली
पार्टीले निकालेका मन्त्री झण्डा हालेर आए, पार्टी हेरेर बस्नुपरेको छ

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर पुगेका छन् । उनले त्यहाँ समसामायिक राजनीति र पार्टिका अवको रणनीतिका बारेमा छोटो कुराकानी गरेका छन् । एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको, पार्टी छोडेर गएकाहरुलाई पार्टीमा प्रवेश गर्ने ढोका खुल्ला रहेपनि स्वागत गर्ने चचलन नरहेको जस्ता अभिब्यक्ति ओलीले पत्रकारहरुसँगको सवालजवाफमा दिएका छन् । पत्रकार र ओली वीचका सम्वादलाई हामीले अन्तवार्ताका रुपमा उतारेका छौं )
० अहिलेको सत्तारुढ वाम गठबन्धन कायम रहला कि नरहला ?
कसलाई वाम गठबन्धन भन्या तपाईंले ? कांग्रेस माओवादी कसलाई तपाईंले वाम गठबन्धन भन्या ?
० यसमा माओवादी र नेकपा एस पनि छन् नि त ?
त्यो गठबन्धन वाम गठबन्धन हो त ? यिनीहरु बाम हुन् ?
० अब नकेपा एस एमालेसँग जोडिने कति सम्भावना हुन्छ पछिल्लो गतिविधि हेर्दा ?
पोहोर फुट्या होइन ? उहाँहरुले सोध्नुभएन हामीलाई फुट्ने बेलामा ।
० अहिले विभिन्न मञ्चमा बोलिराख्नुभएको छ नि ।
मञ्चका कुरा बेग्लै हुन् । अहिले त्यस्तो केही छैन । अहिले हामी आफ्नो काममा छौं ।
० प्रस्ताव आयो भने ?
कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं ।
० आए भने स्वागत गर्नुहुन्छ ?
स्वागत भन्ने शब्द बढ्तै हुन्छ कि । पार्टीमा आउन सक्नुहुन्छ ।
० स्वागत चाहिँ गर्नुहुन्न ?
स्वागत भनेको के ? गेट बनाउनु भनेको ? त्यस्तो चलन छैन नि हाम्रो ।
० तपाईंहरुले कस्तो संविधान बनाउनुभयो ? प्रधानन्यायाधीशको महाअभियोग तीन महिनासम्म टुंगो लागेको छैन । प्रहरीको आईजीपीमा त्यस्तै छ ।
मैले के गर्ने त ?
० त्यसमा हजुर पनि हुनुहुन्थ्यो नि त ?
केमा ? महाभियोग लगाउनेमा ?
० होइन संविधान बनाउनेमा
संविधान त कार्यान्वयन गरे न हुन्छ । त्यसलाई डिस्टोर्सन गर्यो भने, बङ्ग्यायो भने त बेग्लै कुरा हो ।
० बङ्ग्याएकै हो ?
हो त । बङ्ग्याएकोमात्र होइन संविधान तोडमोड, भाँचकुच, च्यातचुत धेरै कुरा भाका छन् ।
० तर प्रमुख प्रतिपक्षी दलका पनि त दायित्व हुन्छ नि यसलाई सीधा पार्ने ?
त्यो हामी गर्दैछौं । एकै दिनमै सीधा हुँदैन । विस्तारै हुन्छ ।
० हिजो तपाईंलाई संविधान तोडमोड गरेर प्रतिगमन गरेको आरोप लागेको थियो, अहिले त्योभन्दा पनि बढी भएको हो ?
तपाईंहरु विचार गर्नुहुन्छ कि हल्लाको पछि कुद्नुहुन्छ ? प्रतिगमन भनेको देउवाले संसद विघटन गराउनुभो, चुनाव नगरी प्रजातन्त्र दरबारमा बुझाउनुभो, त्यो प्रतिगमन हो । प्रतिनिधिसभाको नयाँ चुनाव गर्नु भनेको, नयाँ संसद बन्नु भनेको प्रतिगमन हुँदैन । अब चुनाव हुँदैछ, प्रतिगमन हो त्यो ? अर्को प्रतिगमन भनेको माओवादीको सरकार थियो । माओवादीले संविधान बनाउनका लागि संविधानसभा बनाएको थियो । संविधान नबनाइकन विघटन गर्यो । चुनाव गराएन । देश अस्तव्यस्त बनायो । यति कृत्रिम बाटोबाट हामीले अर्को संविधानसभा चुनाव गरायौं । त्यस्तोलाई भन्छ प्रतिगमन ।
० नेकपा एसले मन्त्रीहरु फेरबदल गर्न नसकेको प्रसंगमा के भन्नुहुन्छ ?
उनीहरुले पार्टी छाडिदिन्छौं भने । प्रमलाई गएर हामीलाई राख्नुस् न तपाईंंको पार्टीमा आउँछौं भने । त्यसपछि पार्टीले निर्णय गर्यो । तर पार्टीले निकालेका मान्छेलाई प्रधानमन्त्रीले कायम राखे । पार्टी निरीह बिचरा । निकालेका मन्त्री झण्डा हालेर आए । पार्टी हेरेर बस्यो । चिया खाँदै खुइय गरे । पार्टीका हालत तिनै न छन् । पार्टीले मन्त्री निकाल्यो तर मन्त्री निस्केनन् । डिसअर्डर हेर्नुस् न ।
० अब हजुरको प्रधानमन्त्री कार्ड चल्छ त ?
के भन्या त्यो ?
० तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको कुरा आइराख्या छ नि ?
मैले त सुन्या छैन ।
० प्रचण्ड, माधव नेपालले भनिरहनुभएको छ हामीलाई प्रधानमन्त्रीको अफर आयो भनेर ?
ए भन्नुभएको छ ? को हुने हुनुभएछ त ? केमा कुरा मिलाउनुभयो रे ?
० तपाईंहरुले अफर गर्नुभएको होइन ?
हामीले त भन्या छैनौं ।
० एएमसीसी पास हुनेवित्तिकै अमेरिकाका कर्णेल नेपाल आए । यसैका लागि एमसीसी पास गराउनुभएको हो ?
एमसीसी पास हुँदा तपाईं विदेशतिर जानुभएको थियो कि नेपालमै हुनुहुन्थ्यो ? प्रचण्डजी, माधव नेपालजी होइन पास पास भनेर हात उठाउने ? उहाँहरुलाई सोध्नुस् न ।
० तपाईंहरुले पनि त विरोध गर्नुभएन नि ?
हामीलाई त संसदीय प्रक्रियामा सामेल हुनै दिइएको थिएन । अभ्यासमा सामेल हुनै दिइएको थिएन ।
० हजुरहरुले भनेजस्तो स्थानीय तहको परिणाम आएन । अब के हुन्छ संघको चुनावमा ?
स्थानीय चुनावको कुरा बेग्लै हो । यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन । स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं । ६ दल मिले । कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो । धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्यौं होला, तर हाराहारीको स्थितिमा छ । पपुलर भोटमा फेरि पनि अगाडि छौं । एमाले एमाले नै हो ।
० अब आउने निर्वाचनमा के होला ?
अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउनेछन् ।
















दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया