शनिबार, वैशाख ५, २०८३

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाई 

मेरोन्यूज २०७९ जेठ २८ गते ८:२०

खोटाङ । सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र काम सुरु नगरेपछि स्थानीयको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम राखेको जनाएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायतको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले सडक ढलानको अवरुद्ध काम तत्काल सुरु गरेर सम्पन्न गर्नुपर्ने माग राखेका छन् । लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यतायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको स्थानीय नेत्र कट्वालले बताए । 

 दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दैआएको निर्माण कम्पनीले गत वैशाख दोश्रो साता यता काम ठप्प पारेको हो । निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । 

 निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत–जावत गर्न समस्या सिर्जना भएको हो । 

प्रतिक्रिया