ऐतिहासिक कोतघरको पुनःनिर्माण सकियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।
पुनःनिर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा रु आठ लाख विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । “छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो”,उनले भने, “पुरानो स्वरुप कायम रहने गरी संरचना बनाएका छौँ ।” गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो ।
छानोमा तीनवटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ ।
विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।
“ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो”,उनले भने, “रु पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।”
सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ ।
यस कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उनले बताए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया