‘गरिबीले लेखक बन्न भूमिका खेल्यो, लेखेरै विश्व घुमियो’

गोविन्द गिरी प्रेरणाले साहित्य साधना गरेको ४५ वर्ष नाघ्यो । उमेरले ६४ वर्ष पुगेका उनमा सक्रियताको कमी आएको छैन । मकवानपुरको सिस्नेरीमा जन्मिएका उनको कर्मथलो अमेरिका बन्न पुग्यो । तर, नेपाल बारम्बर आइरहन्छन् । केही न केही सिर्जना गरिरहनु, बाक्लो साहित्यिक भेटघाटमा रमाउनु उनको कर्म बनिसकेको छ ।
गोविन्दको २६ औं कृति ‘टुप्लुक्क टोकियो’ हालै प्रकाशित भएको छ । यसअघि ६ वटा कथा संग्रह, ५-५ वटा उपन्यास र कविता संग्रह, तीन वटा नियात्रा, दुई वटा निबन्ध संग्रह, एक-एक वटा हास्यव्यंग्य, समालोचना र अन्तर्वार्ताका पुस्तक प्रकाशित छन् । किताब सम्पादन र अनुवादमा उत्तिकै रमाउने उनी मैनाली कथा पुरस्कार, बासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्मय पुरस्कारबाट सम्मानित भइसकेका छन् । यसपाली नेपाल बसाइ अमेरिका उड्नुअघि लेखक तथा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा‘सँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
तपाईंको पहिलो रचना कहिले छापिएको थियो ? सम्झना छ ?
२०४० सालमा सुतेको समुन्द्र (कथा संग्रह) प्रकाशित भयो । फुट्कर रचना भने कुपन्डोलको फ्रेन्ड्स क्लबले प्रकाशित गरेको ‘आस्था’ नामक मुखपत्रमा किनारा कथा छापिएको थियो ।
पारिवारिक माहोल कस्तो थियो ? साहित्यिक पृष्ठभूमि भएर यतातिर लाग्नु भयो कि ?
होइन । म आफ्नै रुची र अध्ययनले साहित्यमा लागेको हुँ । हामी २०२३ सालमा हेटौंडा गयौं । त्यहाँ मेरो साथीको पुस्तक पसल थियो । त्यो मंगल पेपरमा भए जतिका सबै पुस्तक मैले पढेँ । एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौँ पुगेँ । मैले अध्ययन गरेको मीनभवन क्याम्पसको पुस्तकालयमा भएका सबैजसो पुस्तक छिचोलेँ ।
यसबाहेक ब्रिटिश लाइब्रेरी, अमेरिकन लाइब्रेरी र इन्डियन लाइब्रेरी अनगिन्ती धाएँ । युधिर थापाका सबै उपन्यास पढियो । सिक्किमका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का सस्थापक अध्यक्ष सुबास घिसिङका किताब पढियो । घिसिङसँग त २०३७-०३८ सालतिर काठमाडौँमै भेट गर्ने मौका पनि भयो ।
सरकारी स्कुल पढेकाले मलाई अंग्रेजी राम्रो बनाउन मन थियो । क्याम्पस पढ्ने बेला नेपाली माध्यममा पढेँ पनि परीक्षा दिनेबेला अंग्रेजीमा लेखेँ । सुरुमा त सरले धम्की जस्तो दिनु भयो । भाषा राम्रो भएन भनेर टिप्पणी गर्नु भएको थियो । पछिल्ला वर्षमा सरबाट राम्रो तारिफ पाएँ । धेरै सुधार गरेछौँ भनेर सुझाव दिनुभयो ।
लेखनमा आउन तपाईंलाई के कुराले प्रेरित गर्यो ?
लेखनमा आउन मेरो परिवेश, गरिबी, अभाव, संघर्ष र मेरै रुचीले मुख्य भूमिका खेल्यो । योसँगै मेरो अध्ययनले लेख्न प्रेरित ग¥यो । २०३० सालपछि गम्भिर साहित्य पढ्न थालियो । मीनभवन पढ्दा गुरु कोमलनाथ सुवेदीले नेपाली भाषा, साहित्य पढाउनु हुन्थ्यो । यो २०३३ सालतिरको कुरा हो । उहाँले साहित्यिक पत्रिका मधुपर्क पढ्न सल्लाह दिनु भयो । त्यस बेलादेखि अहिलेसम्म म मधुपर्क पढिरहेको छु । म अमेरिकामै भए पनि यहाँबाट श्रीमतीले गरिमा, मधुपर्क र अन्य किताबहरु पठाइदिन्थिन् ।
पुस्तकमा कत्तिको खर्च हुने गरेको छ ?
अहिले त मसँग अमेरिकामा झण्डै १२ हजार पुस्तक सुरक्षित छन् । काठमाडौँमा झण्डै २० हजार पुस्तक छन् । यी विभिन्न समयमा किनेका संकलन गरेका पुस्तक हुन् । यसमा ३, ४ रुपैयाँ पर्नेदेखि ३, ४ हजार रुपैयाँ पर्नेसम्मका पुस्तक छन् । त्यो बेला साझाले पकेट बुक निकाल्थ्यो । कुनै कुनै पुस्तकको पहिलो संस्करण नै किनेको छु । भवानी भिक्षुको पुस्तक ‘आगत’को पहिलो संस्करण नै किनेको छु । त्यसको मूल्य २५ रुपैयाँ थियो ।

तपाईको पछिल्लो पुस्तक ‘टुप्लुक्क टोकियो’ को प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
राम्रो प्रतिक्रिया पाइरहेको छु । कतिले एक बसाइँमा पढिसिध्याएको बताए । कतिले लेखाइमा इमानदारिता झल्किएको पाइन्छ भनेर टिप्पणि गरे ।
एकदमै छोटो बसाइँमा यो पुस्तक तयार पार्नु भएछ, यसमा समेट्न नसकेका विषय के–के छन् ?
थुप्रै छन् । जापानमा माउण्ट फुजी हेर्न पाइएन । सम्राटको दरबार हेर्न पाइनँ । समुन्द्रको किनार पुगिएन । गिशा हाउस भन्ने अर्को चर्चित ठाउँ छ, जापानमा । जहाँ विश्वविख्यात लेखक तथा पहिलो जापानी नोबेल पुरस्कार पाउने साहित्यकार जाने गर्थे । त्यो ठाउँ जान पाइनँ ।
जापानप्रति तपाईंको प्रेम कसरी पलायो ?
सुरु-सुरुमा मैले जापानी कथा हिन्दीमा पढेँ । हाइकु पढेँ । नजानिदो पाराले जापानप्रति मेरो उत्सुकता बढायो । जापानी चलचित्र पनि हेर्न थालियो । अलिकति फरक र रमाइलो लाग्न थाल्यो । जापानी बरोबर नेपाल आइरहन्थे । यो सबै माहोलले गर्दा जापानप्रति मेरो बढी रुची जाग्न थाल्यो । मैले दुई वर्ष जापानी भाषा पढेँ । पछि पढाएँ पनि । एक पटक नेपाली–जापानी भाषाको डिक्सनेरी बनाउने तयारीमा जुटेँ । तर, त्यो पूरा हुन भने पाएन ।
तपाईं यात्रा गरेर लेख्न रुचाउने लेखक हुनुहुन्छ । अहिलेसम्म कति देश घुम्नु भयो ? अब के सिर्जना गर्दै हुनुहुन्छ ?
मैले केही देश घुम्ने मौका पाएँ । र, त्यहाँका स्मरण पनि लेख्ने कोशिस गरेँ । जापान, अमेरिका र जर्मनी घुमेपछि नियात्रा आइसकेको छ । सन् २०१८ मा गरेको जापान यात्राको पुस्तक भर्खरै मात्र सार्वजनिक भएको छ । सन् १९९२ बेलायत, २०१५ मा चेक रिपब्लिक पुगेँ । २००२ मा फ्रान्स, बेल्जियम, जर्मन, क्यानाडा पुगेँ । २००० मा मैले अमेरिका पाइला टेकेँ । त्यसपछि त अमेरिका नै कर्म थलो बन्यो ।

तपाईंलाई सबैभन्दा बढी कुन विधा मन पर्छ ?
लेख्न त सबै विधा लेख्छु । तर, आख्यान बढी मन पर्छ । कथा, उपन्यास बढी लेख्न रुचाउँछु । मलाई त्यही विधा सजिलो लाग्छ । अब मेरो उपन्यास आउनेवाला छ । यसको खाका कोरिसकेँ । र, यो एक हजार दुई सय पेजको हुने छ ।
परदेशमा बसेर साहित्य सिर्जना गर्न कत्तिको गार्हो हुन्छ ?
समय व्यवस्थापन गर्न सके सकिन्छ । नेपालमा बस्दा पनि मैले पसल थापेर, त्रिभुवन विश्वविद्यालयमा एकाउण्टेट, अडिटरको जागिर गरेर, टिभीमा काम गरेर पनि लेखिरहेकै हुन्थेँ । मनदेखि समपर्ण भयो भने लेख्न गार्हो हुँदैन । झन् परदेशमा बस्दा ठूलो संसार देखियो । व्यापक अध्ययन गर्ने मौका मिल्यो । लेखनलाई अझ राम्रो बनाउन यसले मद्दत गर्यो ।
अमेरिकामा लेखन र पठन संस्कृतिका लागि कस्तो वातावरण छ ? त्यसमा तपाईं कसरी रमाइरहनु भएको छ ?
कामबाट बचेको समय लेखेरै, पढेर बित्छ । बुक सपमै कफी पसल हुन्छ । दिनभर त्यहीं बसेर पढ्न सकिन्छ । म निरन्तर तीन घण्टासम्म क्याफेमा पढेर, लेखेर बस्छु । स्टार बुक्स कफी अमेरिकाको नम्बर वन मानिन्छ । त्यहाँ निःशुल्क मेम्बर बन्न सकिन्छ । मेम्बरलाई एक कप कफी पिउँदा अर्को निःशुल्क दिइन्छ ।
यस्तै, पनिरा ब्रेड नामक अर्को ब्राण्डका रेस्टुराँ छ । त्यसमा पनि मेम्बरलाई बागेल (दुनट जस्तै) आइटम एक महिनासम्म निःशुल्क दिइन्छ । दिनभर पढ्न, लेख्न सकिन्छ । त्यसका लागि राम्रो माहोल छ । म पुस्तकालयको सदस्य बनेको छु । साहित्यिक कार्यक्रम पुस्तकालयको हलमा हुन्छन् । नोभा बार्डस्को सदस्य छु । यो अमेरिका म बस्ने स्थानीय कविको क्लब जस्तै हो ।
सबैभन्दा बढी दोहोर्याएर कुन पुस्तक पढ्नु भयो ?
म प्रायः दोहोर्याएर पढ्दिन । कुनै कुनै अंश पढ्नु अर्कै कुरा हो । पहिलो इम्प्रेसन नै काफी छ । जति पढे पनि त्यसको स्वाद एउटै हो । मेरा लागि एक पटक पढ्दा नै काफी हुन्छ ।
अरुलाई कुन पुस्तक पढ्न सल्लाह दिनु हुन्छ ?
त्यो कुरा मानिसमा भर पर्छ । यही पढ्दा राम्रो भनेर म सल्लाह दिन्न । आफ्नो रुचीअनुसारका पुस्तक पढ्ने र प्रेरित हुने कुरा हो ।
लेखनमा आउन चाहने युवा पुस्तालाई के सल्लाह दिनु हुन्छ ?
आफू जुन बाटोमा हिँड्यो त्यो बाटोमा अगाडि को को हिँडे ? त्यो चिन्न जरुरी छ । अध्ययन, मनन् गर्न र लेखनको अभ्यास थाल्न पनि उत्तिकै जरुरी छ । लेखनका लागि भ्रमण पनि जरुरी छ ।
प्रतिक्रिया