बिहीबार, माघ १, २०८२

काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

मेरोन्यूज २०७९ असार १७ गते १७:०३

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ, नेपालमा भइरहेको कटुसको आयात । नेपालका वन जंगलमा सहज रूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।

नेपालीले विशेष गरी भाइ टीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर, त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।

व्यावसायिक रूपमा खेती गर्नु नपर्ने, वन जंगलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्य मात्रै ४९ हजार बराबर छ । सानो परिमाण भए यसबाट विदेशी मुद्रा थप विदेशिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ । उक्त परिमाणमा काजु आयात गर्नका लागि एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ । त्यसबाट सरकारले ३४ करोड ४७ लाख ३९ हजार राजस्व संकलन गरेको छ ।

भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ ।

त्यस्तै, चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ । अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ ।

अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुन सक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।

७० करोड ओखर आयात

विभागका अनुसार यस अवधिमा ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानु पर्ने अवस्थाले नेपालको परनिर्भरता झनै बढेर गएको हो ।

ओखर आयात गर्दा मात्रै मुलुकले २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व संकलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्यांक छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भारतलगायतका अन्य देशबाट आयात भएको छ ।

त्यस्तै, ६ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल ६ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा चार करोड १३ लाख ७३ हजार बराबरका छन् । ताजा छोकडा दुई करोड २३ लाख ८८ हजारका बराबरका छन् ।

प्रतिक्रिया