बिहीबार, माघ १, २०८२

विवादमा अर्थमन्त्री

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

मेरोन्यूज २०७९ असार २२ गते १५:५४

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो ।

‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल गौतम प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाउन लागिएको हो । ‘समिति बनाउनु भनेको राजीनामा सरह हो,’ एमाले सांसद योगेश भट्टराईले भने । उनका अनुसार छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्नेछन् ।

प्रतिक्रिया