बुधबार, वैशाख १६, २०८३

छद्म नाममा राजनीति : उपसभामुखदेखि पूर्वमुख्य सचिवसम्म, एमाले र माओवादीमा अधिक

मेरोन्यूज २०७९ असार ३० गते १८:०५

काठमाडौँ । पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेको छ । गभर्नर अधिकारीको छद्म नाम नै नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी भएको भन्दै प्रश्न उठेको हो ।

Advertisement
NiccNicc

राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्ति हुन कुनै दलको सदस्य वा पदाधिकारी हुन निषेध गरेको छ । तर, बहालवाला गभर्नर अधिकारी नै एम अधिकारी भएको भन्दै छानबिन हुनु पर्ने माग संसदमा उठेको छ ।

सरकारी पदमा बसेर छद्म नाममा राजनीति गर्ने गभर्नर मात्रै एक्ला व्यक्ति भने होइनन् । यस्ता गैरजिम्मेवारी काम एमालेले मात्रै गरेको छैन । यस्ता, गलत काममा एमालेसँगै अन्य राजनीतिक दल पनि अग्र स्थानमा रहँदै आएको छ ।

यसैमध्ये सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका दुई जनाको छद्म नाम केन्द्रीय सदस्यमै रहेको छ । छद्म नामहरू पी घर्ती र आर तामाङले पार्टीको केन्द्रीय सदस्यमा आफूलाई सुरक्षित बनाउन सफल भएका हुन् । उनीहरू दुवै जना माओवादी केन्द्रबाट प्रदेशको उपसभामुख पदमा रहेका छन् ।

नेपालको कानुनअनुसार सभामुख र उपसभामुख हुँदा कुनै पनि राजनीतिक दलमा आबद्ध हुन पाउँदैनन् । तर, माओवादीबाट प्रदेश उपसभामुख बनेका पी घर्तीले पुष्पा घर्ती र आर तामाङले राधिका तामाङको असली नाम लुकाएर पार्टीको केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।

छद्म नाम पी घर्ती कर्णाली प्रदेशको उपसभामुखमा आसन भएका छन् । यस्तै, आर तामाङ बागमती प्रदेशसभाको उपसभामुख रहेकी छन् । उनीहरू दुवै जना पार्टीको महाधिवेशनमा समेत सहभागी भएका थिए ।

यस्तै, छद्ममा नाममा पूर्वमुख्य सचिवदेखि पूर्वमहान्यायाधिवक्तासम्मले राजनीति गर्दै आएका छन् । भलै उनीहरू अहिले सार्वजनिक पदमा रहेका छैनन् ।

यसरी छद्म नाममा राजनीति गर्ने पूर्वमुख्य सचिवमा लीलामणि पौडेल रहेका छन् । उनी एल. मणि पौडेलेको नाममा माओवादीको राजकीय मामला तथा सुशासन विभागमा आबद्ध रहेका छन् । यस्तै, पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले नेकपा एकीकृत समाजवादीबाट विदेश विभागको जिम्मेवारी पाएका छन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी जीआर जोशीको नाममा माओवादीको राजकीय मामला तथा सुशासन विभागमा आबद्ध रहेका छन् । यसैगरी गण्डकी विश्वविद्यालयका पूर्व कुलपति गणेशमान गुरुङले जीएम गुरुङको छद्म नामबाट एमालेको राजनीति गरिरहेका छन् । उनी अहिले एमालेको शिक्षा तथा मानवस्रोत विभागमा रहेका छन् ।

प्रतिक्रिया