बिहीबार, माघ २९, २०८२

विश्व विद्यायलमा तालाबन्दी अस्वीकार्य : शिक्षामन्त्री पाैडेल

मेरोन्यूज २०७९ साउन ५ गते १६:२२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शंकाय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्च शिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यायलको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्ने गरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट पारे । उनले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तर र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा विदेशिने क्रम न्यून गर्नु पर्नेमा जोड दिए ।

मन्त्री पौडेलले विश्व विद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्ने गरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्चशिक्षा ऐन ल्याइने जानकारी दिए ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवामध्ये १० प्रतिशतले मात्रै विदेशमा अध्ययन गर्ने भएकाले तिनलाई स्वदेशमै टिकाउनु चुनौतीपूर्ण भएको बताए । अर्का शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयलाई स्वायत्त र प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न सुझाव दिए ।

प्रतिक्रिया