आइतबार, वैशाख २०, २०८३

कांग्रेसभित्रका अन्तर्घातीलाई दण्डित गर्नु पर्छ : नेता पौडेल

मेरोन्यूज २०७९ साउन ७ गते २१:२६

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताए ।

Advertisement
NiccNicc

कांग्रेस तनहुँ जिल्ला कार्य समितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे ।

‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्म निरीक्षण हुन जरुरी छ,’ उनले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

वरिष्ठ नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नु पर्ने बताए । ‘अन्तर्घाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,’ उनले भने ।

पैसावालाको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नु पर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । ‘यसले लोकतन्त्र त कमजोर हुन्छ–हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,’ उनले भने ।

गठबन्धन आदर्श र सिद्धान्तले नगरिएको बताउँदै वरिष्ठ नेता पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए । उनले चुनावमा गठबन्धन नगरी बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, क्षेत्र नं १ का सभापति श्यामकुमार मौराती, २ का सभापति चुडामणि खनाललगायतले कांग्रेसभित्रका कमी–कमजोरी सुधारेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया