बुधबार, पुष २, २०८२

क्यालिफोर्नियाको डढेलो बढेसँगै ६ हजार विस्थापित

मेरोन्यूज २०७९ साउन ९ गते २०:५९

काठमाडौँ । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिएको छ । डढेलो फैलिएसँगै हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।

क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर)ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ । क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।

अधिकारीले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीले जोखिम क्षेत्रका बासिन्दालाई उद्धार गर्न र संरचनाको सुरक्षा गर्न खटिरहेका छन् ।

डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्याएको छ हजारौँ मानिस डढेलोको जोखिममा परेका छन् । क्याल फायर अफिसर हेक्टर भास्केजले भने, प्रभावित क्षेत्रका ६ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे ।

हालैका वर्षमा क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागमा पछिल्ला वर्षमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ ।

प्रतिक्रिया