एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन सुरु

भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताए । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उनले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गरे ।
कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए ।
अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उनले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताए । उनका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।
क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका छ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा शर्माले १२ हजार खोप आएको जानकारी दिँदै एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताए।
यो एचपिभी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन । कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण देखा पर्नसक्ने चिकित्सकले बताएका छन् ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुमपान गरेमा, लामो समयसम्म हर्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने विज्ञले बताएका छन् ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ ।
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया