शुक्रबार, फागुन १, २०८२

राष्ट्रवादी शक्तिको अभावमा ठूला दलले मनपरीतन्त्र चलाए : लिङ्देन

मेरोन्यूज २०७९ साउन ११ गते २१:०८

धनगढी । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई परास्त गर्न राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

आज धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरूलाई राप्रपामा प्रवेश गराउँदै लिङ्देनले भने, ‘आगामी निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’

षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड उनीहरुले आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको बताएका छन् । एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका राजेश भण्डारीले इमानदार नेतृत्वको अभावमा समाजको सबै क्षेत्र प्रदुषित बनेको र नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वको रुपमा लिङ्देनको उदय भएपछि राप्रपा आम जनताको आशा, भरोसाको नयाँ राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । 

कार्यक्रममा राप्रपाका नेताहरू चन्द्रबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सहायक प्रवक्ता पूर्ण चन्द, केन्द्रीय सदस्यहरु तिर्थराज चटौत, हिक्मत सिंह भण्डारी, गणेश विष्ट लगायतको  उपस्थिति रहेको थियो । राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङले छिट्टै अर्को चरणको पार्टी प्रवेश गराउने र कैलालीमा राप्रपालाई बलियो शक्तिको रुपमा उभ्याउने दाबी गरेका छन् ।

प्रतिक्रिया