बुधबार, फागुन ६, २०८२

सिंहदरबारमा इञ्जिनियर कर्मचारीको आन्दोलन

मेरोन्यूज २०७९ भदौ २ गते १६:०७

काठमाडौँ । शहरी विकास मन्त्रालयका इञ्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार मन्त्रालयमा इञ्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा शहरी विकास मन्त्रालयमा ल्याउने र शहरी विभागको कार्य क्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा संयोजक तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए । उनले सरकारले इञ्जिनियरको माग तत्काल सुनुवाइ नगरे देशभरको शहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकले सामूहिक राजीनामा दिने चेतावनी दिए ।

अधिकारीले विशिष्टिकृत श्रेणीका आर्किटेक्ट, प्लानर, स्ट्रक्चर इञ्जिनियरले ठूलो माग नभएर आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३०५ मा व्यवस्था गरेको स्थानीय पूर्वाधार विभाग खारेज गरी विभागमा रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाईमा रहने तथा बाँकी कर्मचारी प्रदेश र भौतिक पूर्वाधार सम्वद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था कार्यान्वयन गर्न माग गरेको बताए ।

कर्मचारीहरुले कालो ब्यानरसहित हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरे पनि प्रहरीले कालो ब्यानर र पट्टी भने बाँध्न दिएनन् । आन्दोलनमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह अन्तर्गतका सम्पूर्ण प्राविधिक रहेका थिए । प्राविधिकको आन्दोलनमा निजामती कर्मचारीको आधिकारीक टे«ड युनियन, नेपाल निजामति कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन शहरी विकास विभागीय कार्य समितिको ऐक्यबद्धता रहेको छ ।

प्रतिक्रिया