बुधबार, फागुन ६, २०८२

निर्वाचनमा दलित प्रतिनिधित्व सुनिश्चित गर्ने दलहरूबीच सहमति

मेरोन्यूज २०७९ भदौ ३ गते १७:०३

काठमाडौँ । राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

समता फाउण्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दलहरूले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिको अनुभव र कामको मूल्याङ्कन गर्दै माथिल्लो पदहरूमा पुग्ने वातावरण सिर्जना गर्ने, दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने, दलित जनप्रतिनिधिलाई बिना रोकटोक काम गर्ने वातावरण बनाउने, पार्टी कार्यकर्ताले जातीय विभेद गरेको पाइएमा दलीय र कानुनी दुवै कारबाही प्रक्रियाअघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेकपा माओवादी केन्द्र दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पार्वती विक र नेकपा एमालेका प्रदेश सदस्य टेकेन्द्रकुमार बस्नेतले हस्ताक्षर गरेका छन् ।

छलफलमा कांग्रेस प्रदेश उपसभापति सहकारीले पछाडि पारिएका दलित तथा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सबैको इमान्दार प्रयास आवश्यक पर्ने बताए । एकीकृत समाजवादीका प्रदेश अध्यक्ष थापाले स्थानीय सरकारमा दलित समुदायको सहभागिता आशालाग्दो भएको धारणा राखे ।

अधिकारकर्मी वसन्त विकले संवैधानिक बाध्यताबाहेक राजनीतिक दलहरूले दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि चासो नदिएको गुनासो गरे । कार्यक्रमका सहभागीले प्रमुख दलका नेताहरूको इच्छाशक्तिले मात्रै दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया