शुक्रबार, वैशाख २५, २०८३

आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गरिने

मेरोन्यूज २०७९ भदौ ११ गते २०:३७

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ ।

Advertisement
NiccNicc

अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गते अर्थात आइतबारदेखि १९ गते अर्थात अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगले जनाएको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया