मंगलबार, पुष ८, २०८२

सोभियत युगका अन्तिम नेता गोर्बाचोभको निधन

मेरोन्यूज २०७९ भदौ १५ गते ७:२३

काठमाडौं । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । ९१ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनी सोभियत युगका अन्तिम नेता हुन् । गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिष्ट पार्टीको महासचिव हुँदै देशको सर्वोच्च नेता बनेका थिए । त्यतिबेला उनी पार्टी पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य थिए ।

कट्टरपन्थी कम्युनिष्टहरूले गोर्बाचोभलाई संशोधनवादी नेताको रूपमा चित्रित गर्छन् । सोभियत ब्लकमा आवद्ध देशहरूलाई शान्तिपूर्णरूपमा छुट्टिन दिएकोमा उनलाई पश्चिमाहरूले प्रशंसा गर्दछन् ।

सन् १९८५ मा सोभियत संघको राष्ट्रपति निर्वाचित भएपछि उनले सोभियत संघको ढोका विश्वका लागि खोलिदिए र देशमा सुधारका काम सुरु गरेका थिए ।

लामो समयदेखि गम्भीर रोगसँग लडिरहेका गोर्बाचोभको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । पछिल्ला वर्षहरूमा उनको धेरै समय गम्भीर स्वास्थ्य अवस्थाका कारण अस्पतालमै बित्ने गरेको थियो । गत वर्ष मृगौला रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गोर्बाचोभको निधनप्रति गहिरो दुःख व्यक्त गरेका उनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सी इन्टरफ्याक्सलाई जानकारी दिएका छन् ।

उनको निधनमा विश्वभरीबाट श्रद्धाञ्जली अर्पण भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका राष्ट्रपति एन्टोनियो गुटेर्रेसले गोर्बाचोभलाई ‘इतिहासको ढाँचा परिवर्तन गरेका’ नेताका रूपमा स्मरण गरेका छन् ।

प्रतिक्रिया