आइतबार, माघ ११, २०८२

बलात्कारको मुद्दामा पल शाहले पाए सफाइ

बाल यौन दुराचार अभियोगमा दोषी ठहर, २ वर्ष ६ महिना जेल सजाय

मेरोन्यूज २०७९ भदौ २१ गते १९:४०

काठमाडौँ । जिल्ला अदालत नवलपुरमामा चलिरहेको बलात्कार मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि हुन नसक्ने भन्दै अभिनेता शाहलाई सफाइ दिएका हुन् ।

बलात्कारको मुद्दाबाट सफाइ पाएका उनले अभिनेता शाह अर्थात पूर्ण विक्रम शाह बाल यौन दुराचार अभियोगमा दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय फैसला भएको छ ।

यसका साथै उनलाई पीडित पक्षलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसला भएको जिल्ला अदातल नवलपुरले जनाएको छ ।

फैसलामा पीडित नाबालिका गायिकाको अभिभावकलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएकाले अभिभावकीय जिम्मेवारी पूरा नगरेको आरोप लगाइएको छ ।

यस्तै, सञ्चार माध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै पीडितको वैयक्तिक गोपनियतामा क्षति पुगेकाले सचेत हुन भनिएको छ ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाए पनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

अभिनेता शाहले बलात्कार गरेको आरोपमा पीडित बालिकाले नवलपुरसहित तनहुँमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया