सुनिन छाडे गाउँघरमा दोहोरीको भाका

पाल्पा । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्थे ।
वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल । आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उनले बताए ।
“रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हुँदैनथ्यो, खैंजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते”, उनले भने, “हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिले जसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।”
पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रुचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ ।
कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँझ हो । रामपुरमा दोहोरी साँझको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् । राजनीतिक नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु छन् । सानैदेखि कलाकारितामा रुचि राख्ने उनी आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउछन् ।
स्थानीय सरकारले आधारभूत तह ९कक्षा १–८ सम्म० अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उनले बताए ।
यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइ दिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउछन् ।
कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् । उनी भन्छन्, “स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ, लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।”
आर्थिक वर्ष २०७९÷८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवद्र्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवर्द्धन गर्नका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ । लल
साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवर्द्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण÷मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रिय स्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी, खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाएका छन्।
स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ । यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ । सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ ।
कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रिय स्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहन मूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।।रासस









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया