आइतबार, वैशाख २०, २०८३

वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

मेरोन्यूज २०७९ भदौ ३० गते १०:००


वीरेन्द्रनगर । अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो । केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ । विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताए। “अपाङ्गता भएका बालबालिकाको उपचारमा सहज पहँुच पु¥याउने उद्देश्यले हामी सेवा विस्तार गर्ने क्रममा कर्णाली प्रदेशमा आइपुगेका छौँ”, उनलेभने “पुनःस्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवा उपलब्ध गराइनेछ ।”

Advertisement
NiccNicc

काभ्रेको बनेपामा ३८ वर्षदेखि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको समूहले कर्णालीका विभिन्न स्थानमा पुगेर अपाङ्ता भएका बालबालिकाको उपचार, पुनःस्थापनासम्बन्धी शिविर गर्दै आएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या सात हजार आठ सय ४२ रहेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार छ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनःस्थापनाको जरुरी देखिएको छ ।

यसैबीच, समूहले असोजको पहिलो सातादेखि सुर्खेतका तीन स्थानमा स्वास्थ्य तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । असोज २ गते चिंगाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य केन्द्र छिञ्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ ।रासस

प्रतिक्रिया