सोमबार, फागुन ११, २०८२

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

मेरोन्यूज २०७९ असोज ४ गते १९:३९

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताउनुभयो ।

Advertisement
nepal life insurencenepal life insurence

अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ थियो । उहाँले नेकपा (एमाले) ले संसद् विघटन गरेर प्रतिगमनकारी काम गरेको आरोप लगाउनुभयो । प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उहाँको भनाइ थियो । आजको दिनमा प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उहाँले बताउनुभयो ।

देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारी प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भन्नुभयो, “बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस र माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे ।”

प्रतिक्रिया