सोमबार, माघ १२, २०८२

दशा बन्यो दशैँ

पाँच दिनमा ५५६ सवारी दुर्घटना, ५४ जनाको मृत्यु

१ हजार ५७ जना घाइते

मेरोन्यूज २०७९ असोज २१ गते १३:४३

काठमाडौं । फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् ।

प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फूलपातीयता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गर्‍यौं,’ उनले भने,’हामीले सडकमा जति कडाइ गरे पनि दुखद् दुर्घटना हुन रोकिएको छैन ।’

राईका अनुसार दशैंमा यात्रुको चाप उत्तिकै छ, सडक र राजमार्गभरि खाल्डा र उबडखाबड छन्, यस्ता जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेका छन् ।

‘ओभरलोड र ओभर स्पीडले समस्या गर्‍यो,’ उनी भन्छन्,’यान्त्रिक परीक्षण नगरी सवारी दौडिएका छन्, हामीले केही छड्के जाँच गर्‍यौं, तर त्यो पर्याप्त भएन ।’

बिहीबार मात्रै हेटौंडा-अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए । दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरू भएका छन् । जसमा धेरै अंगभंग पनि भएका छन् ।

दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरेको थियो । तर, बनावटी सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।

लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्थाले पनि दशैंमा ठूला दुर्घटना टार्न सकेन ।

सोमबार र बिहीबार ठूलो दुर्घटनाा भएको हेटौंडा-अमलेखगञ्ज खण्डमा पनि टाइम कार्ड लागू थियो । तर, टाइम कार्डको व्यवस्था प्रभावकारी नभएका कारण पनि दुर्घटना घट्न सकेन ।

प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।

‘सडकको अवस्था राम्रो छैन, सवारीको यान्त्रिक अवस्थाको जाँच भएको छैन,’ उनी भन्छन्,’यात्रु टनाटन भरेर सवारी तीव्र गतिमा दौडिनु नै दुर्घटनाको मूल कारण हो ।’

प्रतिक्रिया