जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्ट

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाले बताइन् ।
मुन रक्स इन्टरनेशनल प्रा.लि.ले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार, १ नं प्रदेशको एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नु पर्ने बाध्यता सिर्जना भएको छ ।
अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानसमेत असहज भएको बिरामीका आफन्तले बताएका छन् । अक्सिजन प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो ।
अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बोलपत्र आह्वान गरेकामा नौवटा फर्मको आवेदन परे पनि घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो ।
अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको कुखुराको खोर जस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो । अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, पर्खाल प्लास्टर गर्नेलगायतका काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो । अक्सिजन भर्नका लागि अन्यत्र जानु पर्ने बाध्यता अन्त्य गर्न जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।
विं.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई सङ्घीय सरकारको करिब २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ । स्थापना भएको ३० वर्षसम्म १५ शय्यामा सञ्चालन भइरहेको जिल्ला अस्पतालमा तत्कालका लागि सिलिण्डरमा भरेर प्रयोग गर्ने गरी अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने व्यवस्था मिलाइएको थियो । जिल्लाको एकमात्र सरकारी अस्पतालमा सञ्चालन गरिएको अक्सिजन प्लान्ट बिग्रिएपछि नीजि अस्पतालहरुसमेत समस्यामा परेका छन् ।
निर्माणाधीन ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सीधै बिरामीको शय्यामा अक्सिजन पुर्याउने अस्पतालले जनाएको थियो । दुई महिना नबित्दै बिग्रिएको अक्सिजन प्लान्ट सोही ठेकेदार कम्पनीलाई मर्मत गर्न लगाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया