मंगलबार, माघ १३, २०८२

सन्दीप लामिछाने `बलात्कार´ प्रकरण

प्रहरीले बुझायो सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिबेदन

१० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी

मेरोन्यूज २०७९ कार्तिक ६ गते २३:४७

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहितको फाइल तयार पारेको छ ।


आइतबार मात्रै पनि थप २ दिन अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमती पाएको प्रहरीले आफनो अनुसन्धान सकेर फाइल तयार पारी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिबेदनमा सन्दीपलाई १२ बर्षसम्मको कैद सजाय माग गर्ने गरि मुद्दा अघि बढाउन आग्रह गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

लामिछानेलाई नाबालिका किशोरी बलात्कार आरोप लागेको छ । उनलाई कात्तिक ५ गते नाबालिका किशोरीलाई नगरकोट लगेर अबेर राती गौशालाको एक होटेलमा लगेर बलात्कार गरेको आरोप किशोरीले लगाई प्रहरीमा जाहेरी दिएकि थिइन् ।

बिदेशमा खेल खेल्न गएका बेलानै उनीमाथि किशोरीले प्रहरीमा जाहेरी दर्ता गरेकोले उनी केही समय बिदेशमै बसेका थिए । त्यसपछि कानुनी प्रक्रियामा सहभागी हुने र आफू निर्दोष रहेको प्रमाण का लागि अनुसन्धानमा सहयोग गर्ने गरि लामिछाने कात्तिक २१ गते नेपाल फर्किदा बिमानस्थल बाट पक्राउ परेका थिए ।


प्रहरीले तयार पारेको अनुसन्धान प्रतिबेदनमा आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरिएको छ ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ ।

तिहारको बिदाका कारण अब अदालत १४ गतेमात्रै खुल्ने भएकोले सन्दीप लामिछानेले अझै एक साता प्रहरी कष्टडीमै बिताउनु पर्ने भएको छ । त्यसपछी सरकारी वकिलले अदालतमा पेश गर्ने मुद्दामा थुनचेक बहस पछि मात्र उनी रिहा हुने नहुने टुंगो लाग्ने छ ।

प्रतिक्रिया