छठ मनाउन जनकपुरमा मात्रै तीन करोडको केरा आयात

काठमाडौँ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।
छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि आफ्नै उत्पादनले अपुग हुँदै आएको छ ।
छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नु पर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । स्थानीय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको उनले बताए ।
अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताए । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उनले भने ।
जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताए ।
पूर्वेले भने, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”
फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया