मंगलबार, चैत २४, २०८२

प्रसूति सेवा होस त यस्तो !

मेरोन्यूज २०७९ कार्तिक १५ गते ७:५०

चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्।

Advertisement
nepal life insurencenepal life insurence

सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ।

प्रसूति गृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ।अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन्। सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन्।

उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ। ‘२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो,’ उनले भने।

विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन्। निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए।

निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ। ‘यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन,ु उनले भने।

निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु एक हजार समेत दिइन्छ। अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन्। यसका अतिरिक्त क्याबिन रहेका छन्। प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ ९पर्खाइ०, नौ शय्याको एक्टिभ ९सक्रिय० र तीन शय्याको लेवर रुम रहेका छन्।

यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन्। अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ। अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ। शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो। २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनले बताए।

भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले बताए।

सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे। उनले भने, ‘हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ।’ अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो।

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ।

बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले बताए।

मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष ९एस एन सि यु० ९लेवल टु० समेत सुरु गरिँदै छ।सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ।

यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पुर्‍याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ।

बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दो व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए।सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ। रासस

प्रतिक्रिया