शनिबार, चैत २८, २०८२

सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’ १२ फागुनमा रिलिज हुने

मेरोन्यूज २०७९ कार्तिक १५ गते १३:३३

काठमाडौं । अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ आगामी १२ फागुनमा रिलिज हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शीर्ष गीत ‘उडी छुनु छ आकाश’ को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरियो । गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

तीन पुस्ताका कलाकारहरु रहेको यसमा ‘आमा’ चलचित्रकी अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।

निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । ‘पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजीको कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो,’ खनालले भने, ‘लेख्नेले त लेखेर आफ्नो दायित्व पूरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाएँ ।’
उनले चलचित्रमार्फत विधवा पिताको मात्रै होइन, विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सवाल उठाएको र त्यसको जिम्मा पनि आजको पिँढीलाई दिएको बताए ।

अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफूले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए । उनले भने, ‘हि इज एक्सेलेन्ट भन्नुपर्‍यो भने मैले सरोज खनाल भन्छु । यो नामले मेरो दृष्टिकोणमा त्यो मूल्य राख्दछ ।’

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो चलचित्र करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताइन् । मानन्धर भन्छिन्, ‘मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइनँ । मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो । ‘बगान’मा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ । यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नु परेन ।’

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । कार्यकारी निर्माता विनोद मानन्धरले यो चलचित्रमा सबैको साथ चाहिएको बताए ।

बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुत िरहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

प्रतिक्रिया