गुल्मीको कफी जापान र फ्रान्समा निर्यात, किसान आकर्षित हुँदै

काठमाडौँ । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।
संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कूल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका ८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपला रुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनीहरूले बीस हजार कफीका बिरुवा रोपेका छन् ।
“विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ”, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो ।
कफीखेतीमा उनीहरूले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरूले रोजगारी दिँदै आएका छन् ।
उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिक रुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् ।
आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छिन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागेकी छन् ।
आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेकी छन् । उनले प्रत्येक वर्ष चार क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छन् । “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनु भएको हो”, उनले भनिन् ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका ५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।
कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया