बुधबार, पुष ९, २०८२

नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर सञ्चालन

मेरोन्यूज २०७९ मंसिर २६ गते १०:५६

काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका आश्रित परिवारजनलगायत स्थानीय सर्वसाधारणका लागि यही मंसिर २४ गते बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो ।

स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कूल ३२० जनाको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गरेका हुन् ।

त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई स्थानीय सर्वसाधारणहरूको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमा प्रदेशस्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू लगायत स्थानीय भद्रभलाद्मी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया