चिसो बढ्यो, बिरामीको सङ्ख्या घट्यो

काठमाडौं । चिसोयाम बढेसँगै कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या आधाले घटेको छ । अहिले दैनिक छ सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । गर्मी मौसममा एक हजार बढीले बिरामीले बहिरङ्ग सेवा लिने गरेका थिए । अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार चिसोयाममा श्वासप्रश्वास र पखालाका बिरामी फाट्टफुट्ट मात्र आउने गरेका छन् । उनले भने, “गर्मी समयमा ज्वरो र पखालालगायत बिरामी बढी आउँछन् । अहिले निमोनिया, रुघाखोकी र कोल्ड डाइरियाका समस्याका बिरामी आइरहेका छन् । तर बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या एक हजारबाट छ सयसम्म झरेको छ ।”
तुलनात्मकरुपमा चिसोमा बिरामी कम हुने उनले बताए । चिसोयाममा काठमाडौँ बाहिरबाट सिफारिस भएर आउने बिरामीको सङ्ख्यासमेत कम हुने उनको भनाइ छ, “गर्मी मौसममा काठमाडौँ उपत्यका बाहिरबाट रिफर भएर आउने बिरामी धेरै हुन्छन् । चिसोयाम लागेपछि त्यो सङ्ख्या कम हुँदा पनि बिरामी कम देखिएको हो ।”
उनले भने, “नजिकको फार्मेसी र क्लिनिकमा गएर औषधि उपचार गराउने धेरै छन् । सास फेर्न गाह्रो भएपछि, खाना खान छोडेपछि र कोखा हानेपछि मात्र अस्पताल ल्याउने प्रचलन छ ।” यस्तै रोटाभाइरस र निमोनियाविरुद्ध खोपको प्रयोगका कारण पनि बिरामी बालबालिकाको सङ्ख्या कम भएको हुनसक्ने उहाँको अनुमान छ । तर अस्पतालमा बिरामी भर्नाको दर घटेको छैन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या घटेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अहिले दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा लिइरहेका छन् । उनले भने,“बिहीबार एक हजार नौ सय तीन जनाले बहिरङ्ग सेवा लिएका छन् । अहिले धेरैमा दुई हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् ।”
उनका अनुसार सामान्य समयमा दुई हजार पाँच सय बिरामीले बहिरङ्ग सेवा लिन्छन् । अस्पतालमा मेडिसिन, गाइनो र अर्थोपेडिक्सका बिरामी धेरै छन् । “मौसमी रुघाखोकी र फ्ल्यूको समस्या लिएर आउने बिरामी पनि हुनुहुन्छ । यस्ता श्वासप्रश्वासका समस्या लिएर आउने बिरामीको सङ्ख्या दैनिक ३० देखि ४० जनासम्म छन्”, उनले जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन मिलन बज्राचार्यले बहिरङ्गमा सेवा लिने बिरामीको सङ्ख्याले मौसमी रुघाखोकीको यकिन अवस्थाबारे आङ्कलन गर्न नसकिने बताए। उनले भने, “कतिपय बिरामीले घरेलु उपचार गरेर बस्नुहुन्छ । अन्यले नजिकैको क्लिनिकबाट उपचार गर्नुहुन्छ । त्यसपछि पनि निको नभएपछि मात्र अस्पताल आउनुहुन्छ । त्यसैले मौसमी रुघाखोकी र फ्ल्यूका बिरामी कति छन् भन्ने अस्पतालको तथ्याङ्कले पुष्टि गर्दैन ।”
उनले भने, “अहिलेको रुघोखोकी कडा जस्तो देख्छु । अस्पतालसम्म आउने बिरामीलाई दुई हप्ता बढीसम्म च्याप्ने गरेको देखिएको छ । अहिले रुघाखोकी हुँदै निमोनियाबाट ग्रसित दुईजना आइसियुमा हुनुहुन्छ ।” उनका अनुसार अस्पताल आउने ६० देखि ७० बिरामीको सङ्ख्यामा १२ जनासम्म बिरामी श्वासप्रश्वासको हुने गरेका छन् । चिसोमा भीडभाड कम हुने र सङ्क्रमण गराउने भाइरस र ब्याक्टेरीयालगायत कम सक्रिय हुनाले चिसोमा बिरामीको सङ्ख्या तुलनात्मक रुपमा कम हुने गरेको चिकित्सक बताउँछन् ।
















मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया