शनिबार, मंसिर ६, २०८२

भगवान पनि मानिसकै भोकबाट जन्मिएको हो : शिव प्रकाश

मेरोन्यूज २०७९ पुष २९ गते १४:०८

अमेरिकालाई कर्मथलो बनाएका शिव प्रकाश साहित्य लेखनमा निरन्तर सक्रिय छन् । अमेरिकामै बसेर नेपालबारे चासो, चिन्ता व्यक्त गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा उनले नियमित विचार र टिप्पणी लेखिरहन्छन् । उनको लेखाईमा एक प्रकारको आक्रोश भेटिन्छन् ।

राजनीतिक र सामाजिक लेखमा आगो र आक्रोश ओकले पनि उनी प्रेम, जीवन र यौनलाई रसिलो पारामा पोखिन्छन् । व्यक्तिगत रुपमा रसिक लाग्ने शिव प्रकाशका यसअघि कृति ‘घागी’ र ‘जैमली’ जस्ता साहित्यिक कृतिहरू बजारमा आइसकेका छन् । आउने पुस ३० गते उनको ‘समभोक’ उपन्यास सार्वजनिक हुँदै छ । यसै सेरोफेरोमा रहेर मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईं कहिलेबाट लेखनमा प्रवेश गर्नुभयो ?

लेख्ने कुरा मानिसको नितान्त व्यक्तिगत छनौट हो । मेरो बुवा स्व. हरिप्रसाद असाध्यै पढ्नु हुन्थ्यो । मलाई भने पढ्न अल्छी लाग्थ्यो । बुवालाई अध्ययनमा असाध्यै रमाइलो लाग्थ्यो । बुवाले पढ्दै गर्दा म विस्तारै बुझ्न थालेँ । मैले पनि केही लेख्यो भने बुवाले पढिदिनुहुन्थ्यो होला जस्तो लाग्थ्यो । अनि म विस्तारै लेख्न थालेँ । रेडियो नेपालबाट भजन गाएको, गीत गाएको सुन्दा मैले भजन लेखेर पठाउँथे । तर, कहिल्यै बज्दैनथ्यो । लेख्न भने कहिल्यै छोडिएन ।

शनिबार सार्वजनिक हुने तपाईंको उपन्यास समभोक कस्तो उपन्यास हो ? यस पुस्तकमा कस्तो विषयवस्तु समेटिएको छ ?

‘सम’ को अर्थ सबै । संसारका सबै मानिसहरूमा मैले भोको देखेँ । मानिसभन्दा बढी भोक बाँचेको देखेँ । फेरि मानिसपिच्छे भोक पनि फरक फरक देखेँ । कसैलाई शारीरिक, कसैलाई मानसिक, कसैलाई पैसा, कसैलाई प्रेम, कसैलाई सेक्स, कसैलाई नाम, गहनाको भोक छ । यो सारा भोकलाई एकमुष्ठ कसरी सम्बोधन गर्ने भनेर सोच्दा ‘समभोक’ को परिकल्पना गरियो । मैले शब्दलाई त्यो क्वाइन गरियो ।

एक जना समीक्षकले यसअघिमा मेरा कृति ‘घागी’ र ‘जैमली’ पनि शब्द कोषमा भएका नाम होइनन् । यसपालि पनि त्यस्तै नयाँ केही जुराउनु पर्छ भनेर सल्ला दिनु भयो । मलाई पनि त्यो कुरा जायज लाग्यो । सबै कुराको जन्म भोकबाट सुरु हुन्छ । मानिस पनि भोकको परिणाम स्वरुप जन्मिएको हो । भगवान पनि मानिसकै भोकबाट जन्मिएको हो ।

‘समभोक’ले यसभित्रको विषयवस्तुलाई कत्तिको न्याय गर्छ ?

यसको न्यायधीश भनेका पाठक हुन् । मेरोतर्फबाट समभोकलाई बुझाउने प्रयास गरेको छु । यो किताब तीन खण्डमा विभाजित छ । मानिसमा अनेक प्रकारका भोक जन्मिन्छन् । भोकपछि भोग जन्मिन्छ । त्यसलाई सम्भोग भनिन्छ । त्यसमा डराउनु पर्ने, लाज मान्नु पर्ने केही छैन ।

हामी सम्भोग शब्द उच्चारण गर्न डराउँछौ । भोक, भोग र सम्भोगलाई शरीरसँग मात्र जोडेर नहेरौँ । यसलाई दार्शनिक दृष्टि राखेर हेरौँ भन्ने हो ।

यस उपन्यासबाट कस्तो प्रतिक्रियाको अपेक्षा गर्नु भएको छ ?

कस्तो प्रतिक्रिया आउँछ भोलि थाहा हुँदैन । मलाई लेख्ने रहर थियो । त्यो नै सबैभन्दा ठूलो अपेक्षा थियो । अब खासै अरु केही अपेक्षा छैन । मलाई सकारात्मक र नकारात्मक प्रतिक्रियाले फरक पर्दैन । पाठकको स्वतन्त्रता हनन् गर्ने काम मैले गर्दैन । प्रतिक्रिया दिने काम पाठकहरुको काम हो ।

यसपालि सात वर्षपछि नयाँ कृति ल्याउनु भयो । किन यति लामो ग्याप हुन पुग्यो ?

राम्रो विषवस्तु भएका किताब जहिले पनि लामो ग्यापमा आउँछन् । यो विषय भोक, भोग र सम्भोग विश्वव्यापी विषय हो । यस विषयलाई कसरी प्रस्तुत गर्ने, पात्र खडा गर्ने, कथालाई कसरी जोड्ने, कथालाई आख्यानीकरण गर्ने भन्ने बडो चुनौती आइलाग्यो । यसमा म लेख्छु भनेर चिन्तन गर्न दुई वर्ष लाग्यो । लेख्दा, सम्पादन गर्दा समय लाग्यो । बिचमा म आफै पनि व्यस्त भएँ । लेख्न हतार पनि नगरेको हो । बिचमा टिप्पणी, र फुट्कर रचनामा व्यस्त भइयो ।

अझै समभोग उच्चारण गर्न मानिसहरू किन डराउँछन् होला ? समयअनुसार मानिसहरू परिवर्तन हुन् नसकेका पो हुन् कि ?

मुख्यतः समभोग यो शब्द डराउनु पर्ने कारण के हो भने यसको अर्थलाई एउटै कुरासँग जोडियो । अरुले सुनाएको, बुझाएको कुरालाई नै हामी ग्रहण गर्न बाध्य भयौँ । हामी आफूले बुझ्दा यसमा त्यस्तो अफ्ठ्यारो मान्नु पर्ने केही छैन । त्यसको अर्थ शरीरसँग होइन सहअस्तित्वसँग जोडिएको छ ।

दुवैले आआफ्नो अस्तित्व स्वीकार । समानतालाई स्वीकार भन्न खोजिएको हो । यो शब्द अश्लिल हो भनेर बुझाइयो । त्यसरी नै बुझ्यौँ । संसारमा धेरै कुराको सहअस्तित्व छ । आधा दिन, आधा रात छ । त्यो दुइटा भएन भने ब्यालेन्स बिग्रिन्छ । स्त्री र पुरुष सिम्बोलिक हो । यस्तै आकाश र पाताल, धर्ती र जल । सबैले एकले अर्काको सहअस्तित्वलाई धानेका छन् । सृष्टि यसरी नै चलिरहेको छ ।

विशेषगरी ‘समभोक’ उपन्यास कुन वर्गलाई लक्षित गरेर यो उपन्यास लेख्नु भएको हो ?

समभोक सबै उमेरप्रति लक्षित हो । सबै उमेर समूहलाई लक्षित हो । सबैले पढ्नु पर्ने हो भन्छु । भोकमा गहिरिएर हेर्दा मानिस अनेकौँ भोक पालेर बसेको हुँदो रहेछ । त्यसपछि भोग गर्ने चाहना राख्दो रहेछ ।

प्रवासमा बसेर साहित्य सिर्जना गर्न, पुस्तक छाप्न कत्तिको गार्‍हो छ ? त्यसका कठिनाइहरू के–के छन् ?

लेख्न चाह्यो भने सकिन्छ । मानिसले लेख्छु भन्यो भने दुई, तीन घण्टा समय निकाल्न सकिन्छ । त्यो समय काफी हो । समय व्यवस्थापन गर्न भने अलि गार्‍हो छ । विदेशमा बसेर लेख्ने काम गर्नु महाभारत होइन । चाह्यो भने सकिन्छ ।

समभोक तपाईंको पाँचौ कृतिका रुपमा आउँदैछ । पुरस्कारप्रति तपाईंको आकषर्ण कहिल्यै पाइएन । पुरस्कार हात परेको पनि छैन । कहिलेकाहीं पुरस्कारको लोभ हुन्छ कि हुँदैन ?

हुन्छ नि । तर, लाखौं रकमका पुरस्कारभन्दा पाठकको माया बढी महत्वपूर्ण हुन्छ । फेरि लेख्नु आफैमा पुरस्कृत हुनु हो । लेख्नु आफैमा पुरस्कृत हो । लेख्नु सजिलो पनि छैन । सबैबाट माया अलिअलि पाइरहेको छु ।

अचेल विभिन्न सोसल मिडियाको हाबीले पठन संस्कृतिमा कमी आएको पाइन्छ । पठन संस्कृतिलाई बढावा दिन के गर्नु पर्ला ?

दुई वटा पक्षबाट हेर्नुपर्ला । साहित्यलाई बेग्लै ढंगले हेर्नु पर्छ । त्यो कुरालाई म दोषी पनि ठान्दिन । मेरै घरका मानिसहरू किताब किन्दैनन् । पढ्दैनन् । अरुसँग किन गुुनासो गरौँ ?

किताबको आलोकलाई नयाँ कुरा पायो भने प्रचार–प्रसार गर्नु पर्छ । समीक्षकहरूको गुटबन्दीले पनि असर गरेको छ । गुटबन्दी नगरौँ । त्यसो गर्दा राम्रो होला ।

प्रतिक्रिया