आइतबार, माघ १८, २०८२

योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो : प्रधानमन्त्री

मेरोन्यूज २०७९ माघ १ गते ९:५२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ, हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्,’ उनले भने, ‘नेपालमा योग र ध्यानको परम्परा धेरै पुरानो छ, योग र ध्यान विज्ञानमा आधारित छ, त्यसबाट पनि यसको महत्व थप प्रष्ट हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पूर्वीय सभ्यताको रुपमा रहेको योगलाई जीवन विज्ञान र जीवन शैलीको रुपमा निरन्तरता दिन प्रत्येक वर्षको मकर संक्रान्तिलाई नेपालको राष्ट्रिय योग दिवसको रुपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको बताए ।

‘संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन सुरु गरिएकाले हामी नेपालमा जुन २१ लाई संयुक्त राष्ट्रसंघको सदस्यको रूपमा अन्तर्राष्ट्रिय नारामा रहेर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा पनि मनाउँदै आइरहेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ ।’

प्रधानमन्त्री प्रचण्ले योग दर्शन पूर्वीय समाजले संसारलाई दिएको सबैभन्दा सुन्दर र अलौकिक उपहार भएको बताए । नेपाल योगको भूमि रहेको बताउँदै उनले योगले तनावमुक्त शान्त मन, रोग मुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा जोड दिने बताए ।

‘मैले संसारका विकसित भनिएका मुलुकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु,’ उनले भने, ‘त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ ।’

प्रतिक्रिया