नर्स बन्न चाहने इन्दिराको उपसभामुखसम्म यात्रा

‘तपाई मगरको छोरी, राम्रो बोल्न सक्ने महिला हुनुहुन्छ । पार्टीमा आउनुहोस् ।’ संघीय चुनाव आउनु अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगरलाई प्रस्ताव आयो ।
झापामा जन्मिएकी, काठमाडौँलाई कर्मथलो बनाएकी इन्दिराले फिल्डमा ३३ वर्ष अनवरत सामाजिक सेवामा सक्रिय थिइन् । अब संसदमा पुगेर अझ बृहत रुपमा काम गर्नुपर्छ भन्ने उनलाई महशुष भइईरहेको थियो । उनले पार्टीको त्यो प्रस्ताव सहजै स्वीकारिन् ।
इन्दिराले भित्रभित्रै संघीय चुनावअघि विभिन्न जिल्ला, गाउँ–गाउँ पुगेर भोट मागिन् । उदयपुर, सप्तरी, सुनसरी, मोरङ, इलाम, झापा, रुपन्देही, स्याङ्जा, कास्की, पाल्पा, चितवन, काठमाडौँ लगायतका जिल्लाहरु पुगेर राजनीतिक सचेतना फैलाईन् । पुग्न नसकेका स्थान र जिल्लाका बासिन्दाहरुलाई फोन र एसएमएस गरिन् ।
तर, सामाजिक सञ्जाल र मिडियामा त्यतिसारो हल्ला गरिनन् । छायामै परेर काम गर्न रुचाउने इन्दिरालाई मिडियाले त्यो बेलासम्म खोजेनन् ।
जब एकै पटक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परिन्, तब मात्र आम मानिसले थाहा पाए । मिडियाले उनका बारेमा चासो दिन थाले ।

माघ ७ मा संघीय संसदमा सत्तारुढ दलबाट ५२ वर्षीया इन्दिरा उप–सभामुखमा निर्वाचित भइन् । यो पदमा पुग्ने उनले जीवनमा कल्पना पनि गरेकी थिइनन् । उनी त जेल परेका अभिभावकहरूका सन्तालाई शिक्षा दिने कर्ममा अहोरात्र खटिरहेकी थिइन् ।
बन्दी सहायता नेपाल (पिए नेपाल)लाई नेतृत्व गर्दै कैयौं अभिभावकविहिन सन्तानहरूलाई समेत उनले लालनपालन र शिक्षा दिक्षा दिइन् । हाल बन्दि सहायता नेपालले काठमाडौँको साँखु र झापामा आफ्नै स्कुल सञ्चालन गरिरहेको छ । जहाँ गरिब तथा बन्दी जीवन बिताइरहेका अभिभावकहरुका सन्तानहरुलाई पढाइन्छ । पाल्पा, झापा र काठमाडौँमा बालगृह सञ्चालनमा छन् ।
लामो राजनीतिक जीवन नभए पनि सामाजिक सेवामा इन्दिरा रानामगरले सिंगो जीवन खर्चिएकी छिन् । बालबालिकाहरु शिक्षाबाट बञ्चित भएको, पोषणयुक्त खाने कुरा नपाएको कुरामा उनी सधैंँ चिन्तित देखिन्थिन् । सडक, सिंचाई, शिक्षा लगायतका आधारभुत कुरामा जनताहरुको पहुँच नपुगेकोमा बरोबर उनी दुःखी हुन्थिन् ।
सांसदका रुपमा सपथ लिनुअघि नै संसदमा बुलन्द आवाज उठाउने प्रण गरेकी थिइन् । ‘पार्टीलाई घर सम्झेर काम गर्छु । १० वर्षभन्दा बढी राजनीति गर्दिन ।’ सपथ खानुअगाडि नै उनले मेरो न्युजसँग भनेकी थिइन्, ‘आवाजविहीनहरुको आवाज बुलन्द रुपमा संसदमा उठाउन म आवश्यकताले आएको हो ।’
को हुन् इन्दिरा ?
२०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा उनको जन्म भएको हो । प्रतापसिंह मगरकी छोरी सानैदेखि जुझारु, संघर्षशिल थिइन् । आफ्नो त्यही हक्की स्वभाव उनले जीवनभर कायम राखिन् ।
इन्दिराले बिगतमा नेतृत्व गरेको बन्दी सहायता नेपाल (पिए नेपाल)ले हाल १५ वटा सेल्टर सञ्चालन गरिरहेको छ । अहिलेसम्म उनले २ हजारभन्दा बढी बालबालिकालाई शिक्षादीक्षा, पालनपोषण गरेकी छिन् । तर, आफ्नै कोखबाट जन्मिएकी एक छोरी सुभानी छिन् । सबैले उनलाई मायाले ‘आमा’ भनेर बोलाउँछन् ।
हालसम्म इन्दिरा अशोका फेलो, एसिया अवार्ड, वल्र्डस् चिल्ड्रेन प्राइज, एसियन २१ योङ लिडर जस्ता अन्तर्राष्ट्रिय पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेकी छिन् । फिलिपे नामक ब्राजिलका लेखकले उनका बारेमा पुस्तक लेखेका छन् । विभिन्न देशहरुमा उनका बारेमा कोर्षमा पढाई भईरहेको छ ।
सरल र सादगी इन्दिराको जीवन
इन्दिराको जीवन निकै सरल र सादगीपूर्ण छ । उनको बेग्लै सुत्ने कोठा छैन । आफ्नो संरक्षणमा रहेका ७ जना सन्तानहरुसँगै सुत्छिन् । भाडाको घरमा वालवालिकाहरु संरक्षण गरिरहेकी छिन् । २०४७ सालमा काठमाडौँ प्रवेश गरेकी उनले कुनै बेला शिक्षिका बनिन् । कुनै बेला टाँक बनाउने ठाउमा पनि काम गरेर कठिन दिनहरु गुजारिन् ।
साहित्यकार पारिजातसँगको भेटपछि इन्दिराको जीवनले नयाँ मोड लियो । पारिजातले जेलमा परेका व्यक्तिहरुलाई ‘पाम’ संस्थामार्फत मानव अधिकार, बन्दीहरुको हक, अधिकारका लागि पैरवी गर्थिन् ।
पारिजातसँगको निरन्तर उठबसले इन्दिरा पनि त्यही संस्थासँग जोडिन पुगिन् । बन्दीहरुकै सन्तानलाई शिक्षादीक्षा दिन थालिन् । त्यसपछिका दिनमा इन्दिरा निरन्तर बन्दि र तिनका सन्तानहरुको शिक्षादीक्षा र लालनपालनकै लागि समर्पित भइन् ।
कोरोना महामारीमा इन्दिराको सेवा
कोरोना महामारी सुरु भएपछि श्रमिक, कामदार र अभावमा रहेकालाई इन्दिराले घरमै खानेकुरा पकाएर बाँडिन् । हरेक दिन खाना बनाएर ट्याक्सीमा खाना बोकेर खुलामञ्च, ठमेल, शोभाभगवति, सात घुम्ती,जेपी रोड, कमलादी, बालाजु पुल, सोर्हखुट्टे लगायतका क्षेत्रमा उनले खाना बाँडिन् ।
मजदुर, बेरोजगार र विपन्न नागरिकहरु भोको पेट भर्न उनलाई कुरेर बसिरहेका हुन्थे । भरियाहरु, रेस्टुराँमा काम गर्ने, डेरामा बस्नेहरु, हिमाल आरोहण गर्ने, ट्रेकिङ गाइडसमेत यो लाइनमा भेटिन्थे ।

दैनिक तीन सय नागरिकहरुलाई खाना बाँड्दा दैनिक उनको २३ हजार एक सय रुपैयाँ खर्च हुन्थ्यो । सुत्केरी र बच्चाहरुलाई घरमै खाना पुर्याइदिन्थिन् । उनले कुनै पुरस्कार र सम्मानका लागि सेवाको त्यो काम गरेकी थिइनन् । जनता साँच्चै समस्यामा परेका बेला, भोको पेट बसेर कठिनाइ भोगिरहेका बेला मनैदेखि सेवा गरेकी थिइन् ।
खुलामञ्चमा खाना बाँड्ने क्रममा एक दिन एउटा समुहले इन्दिरासँग झगडा गर्यो । त्यो समुहले उनलाई पटक–पटक घेर्यो । अरुले इन्दिराको संस्थालाई प्रदान गर्न खोजेको चामलको भाग उनीहरुले खोसिदिए । कतिपय स्थानीयहरुले खाने खानेले फोहोर गरेको आरोप लगाए । गुण्डाहरुले दिनसम्म दुःख दिए ।
दाताहरुले सबै पक्षलाई खाद्यान्न बाँड्छु भनेका थिए । तर, उनको आरिस गर्नेहरुले आफ्नो भाग खोसेको आरोप लगाउँदै प्रहरीसामु गुनासो गरेर उल्टै हटाउन लगाए । हामीसँग ४० जनाको ग्रुप छ भनेर त्यो बेला इन्दिरालाई धम्की दिए ।
समाजसेवामा कतिले राजनीति, कतिले ब्यापार गरिरहेका छन् । त्यो बेला एसपी किरण बज्राचार्य, डिएसपी श्याम चौधरी, विभिन्न प्रहरी चौकी, जनसेवामा कार्यरत प्रहरी, ट्राफिक प्रहरीले भने इन्दिरा खाना बाँड्ने काममा सहयोग पुर्याए । सुरुमा इन्दिरा र उनकी ठूलो छोरीले फिल्डमा खटिएर काम गरिन् ।
उनको कार्यालयका स्टाफहरुले खाना बनाउने, प्याक गर्ने काममा सघाए । सडकमा सेवाको काममा अहोरात्र खटिदा उपसभामुखको पदीय हैसियतमा पुगौँला भन्ने उनले सोचेकी थिईनन् । उनी त राजनीतिक दलभन्दा पर रहेर काम गरिरहेकी थिइन् ।
निरन्तर अथक रुपमा कर्म गरिरहे नसोचेकै ठाउँमा पुगिने रहेछ । निःस्वार्थ अरुकै सेवामा समर्पित हुँदा जित र खुसीको दिन आउने रहेछ । कैयौंपटक हारेर पनि इन्दिराले आज जितेकी छिन् । तर, उनको जीवनकै अन्तिम शिखर आरोहण होइन यो । चढ्न बाँकी थुप्रै शिखर छन् ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया