कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार पौडेल कि सिटौला ?

काठमाडौँ । नेपाली कांग्रसको आइतबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गर्दै अन्य दलसँग त्यसबारे छलफल गरेर पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउने निर्णय गरेको छ । तर, पार्टीले उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल फागुन २९ गतेसम्म छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचसम्बन्धी ऐन, २०७४ को दफा ४ ले ‘निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने’ व्यवस्था गरेको छ । त्यसो हुँदा यही माघ २९ गतेसम्म निर्वाचन हुनुपर्छ । तर, निर्वाचन आयोग र सरकारले त्यसको तयारी नगरेकाले दबाब दिन कांग्रेसले त्यस्तो निर्णय गरेको हो ।
सरकारले तयारी नगरे पनि कांग्रेस भने नयाँ राष्ट्रपति आफ्नो लविङको बनाउन लागिरहेको छ ।
आइतबार उम्मेदवार उठाउने निर्णय गरेपछि सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट उम्मेदवार को बनाउने भन्ने विषयमा पनि आफू निकटस्थहरूसँग कुराकानी सुरु गरेका छन् ।
देउवाले १४ औं महाधिवेशनमा आफू सभापति बन्नका लागि नेता रामचन्द्र पौडेललाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । गत मंसिर ४ गते प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि पनि कांग्रेसमा पौडेल नै राष्ट्रपतिको उम्मेदवार हुने कोसिस् गरिरहेका थिए ।
निर्वाचन हुने बेलासम्मको गठबन्धनलाई निरन्तरता दिन नेता पौडेल लागिरहेका थिए । उनले त्यो बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू गठबन्धनलाई निरन्तरता दिन र आफूलाई राष्ट्रपति बनाउन सहयोग गर्न आग्रह गर्न उनीहरूकै निवासमा पुगेर भेटेका थिए । अहिले पनि नेता पौडेलले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन दबाब बढाइरहेका छन् ।
संसदीय दलको नेताको निर्वाचनका बेला पनि देउवासँग भेटेर राष्ट्रपति उम्मेदवार बनाउने सर्तमा सहयोग गर्न र माहोल बनाउन सक्ने बताएका थिए । त्यसबेला उनले आफ्नो पक्षमा रहेका सांसद सुरेन्द्र आचार्यलगायतलाई देउवालाई मतदान गर्न लगाएको चर्चा पनि कांग्रेसबृत्तमा छ ।
देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाणसहितका नेताहरू पौडेललाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा छन् । पौडेललाई उम्मेदवार बनाउने प्रस्ताव भएमा अर्काे समूहले पनि इन्कारै गरिनहाल्ने बुझाइमा देउवा स्वयम छन् ।
तर, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरूभने कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउन सकिएमा भने छिमेकी मुलुक र अन्य पार्टीहरूलाई कन्भिन्स गर्न सहज हुने बताइरहेका छन् । दोस्रो प्रतिनिधि सभामा संविधान बनाउने मस्यौँदा बनाउँदा पनि सिटौलाले सबैलाई मिलाएको तथ्यका आधारमा उनलाई दिँदा उपयुक्त हुने तर्क आफू निकटका हरूसँग गरिरहेको नेताहरू बताउँछन् ।
देउवाको मनोकांक्षा पनि पौडेललाई नै दिने रहेको उनी निकटका नेताहरू बताउँछन् । तर, सिटौलाले पनि १३ औं महाधिवेशन र १४ औं महाधिवेशनमा सहयोग गरेको गुन तिर्नका लागि केही न केही गर्नुपर्ने अवस्थामा देउवा रहेकाले अप्ठ्यारो रहेको नेताहरू बताउँछन् ।
देउवा निकट नेता एनपी साउदले राष्ट्रपतिको उम्मेदवार कांग्रेसले निश्चित नगरिसकेको बताउँछन् । ‘पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि दाबी गर्नेहरू त खुल्दै जानुहोला । रामचन्द्र दाईले त पहिला देखि नै चाहना राख्नु भएको छ । कता कता कृष्णप्रसाद सिटौलाको कुरा पनि सुन्नमा आएको छ,’ साउदले भने, ‘‘अहिले नै यही भन्ने अवस्था छैन । हामीले छलफल गरेर एकमुष्ट रूपमा सर्वसम्मत राष्ट्र«पतिको उम्मेदवार तय गर्छौ ।’
राष्ट्रपतिको उम्मेदवार बन्न नेता गोपालमान श्रेष्ठले चाहना राखेको तर उनको सम्भावना कम रहेको नेताहरू बताउँछन् ।
अहिलेको सत्ताको नेतृत्वकर्ता माओवादी पनि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिँदा शक्ति सन्तुलनमा सहज हुने बुझाइमा छ । प्रधानमन्त्री प्रचण्ड स्वयंले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा राष्ट्रपतिमा सघाउने आश्वासन दिएको देउवाले आफू निकटस्थहरूलाई बताइरहेका छन् । तर प्रधानमन्त्री स्वयंले भने यस विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन् ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेको राज्य कब्जा गर्ने रणनीतिलाई असफल बनाउन कांग्रेसले सशक्त उम्मेदवार उठाएर सत्तारुढ दलहरूको समेत सहयोग मागेर राष्ट्रपतिमा पार्टीको उम्मेदवार जिताउने रणनीतिमा लाग्नु पर्ने बताउँछन् । पदाधिकारी बैठकको राष्ट्र«पतिमा उम्मेदवार उठाउने निर्णय पनि त्यसै अन्तर्गत आएको उनको भनाइ छ ।
‘कांग्रेस उम्मेदवार उठाउने मात्र होइन, जिताउने रणनीतिमा लाग्नुपर्छ । नत्र एमालेले राज्य कब्जा गर्छ र मनलाग्दी गर्छ,’’खतिवडाले भने, ‘माओवादीको प्रधानमन्त्री भएर एमालेको सभामुख र राष्ट्रपति भयो भने केही गर्न सक्दैन । तसर्थ माओवादी र अन्य दलहरूले पनि एमालेको मनलाग्दी रोक्न सहयोग गर्छन् भन्ने हाम्रो बुझाइ हो ।’
देउवाले अब पार्टीबाट उम्मेदवार कसलाई बनाउने भन्नेबारे एउटा सानो बैठकमा छलफल गर्ने र १५ माघमा सुरु हुने केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने मनस्थितिमा छन् । निकटस्थहरूसँग पनि कसलाई बनाउँदा उपयुक्त हुने भन्ने सुझाव लिइरहेका छन् ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भएको स्रोतले बतायो ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया