शनिबार, चैत २८, २०८२

चलचित्रको सेक्युरिटी र पाइरेसी रोक्न कानुन बनाइने

मेरोन्यूज २०७९ माघ १६ गते १३:५९

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताएका हुन् ।

उनले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताए। अध्यक्ष केसीले बोर्डको गतिविधिहरुलाई सहि तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे ।

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुङ्गना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताए । “सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो”, उनले भने ।

उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिए ।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया