बुधबार, चैत ११, २०८२

मध्यपहाडी लोकमार्ग : जाजरकोटको मन्ता भिर १२ वर्षदेखि काटेको काट्यै

मेरोन्यूज २०७९ माघ २६ गते ९:५३

जाजरकोट । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ । अझै पूरा हुनसकेको छैन ।

भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ । तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ । मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किँने क्रम जारी छ ।

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ । झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ । मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन ।

लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ । निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ । जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ ।

निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताए । स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ ।

कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए । निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए । योजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाए । रासस

प्रतिक्रिया