शनिबार, चैत २८, २०८२

वडा कार्यालय पुग्‍नै दुई दिन समय

मेरोन्यूज २०७९ माघ २७ गते ७:१०

सर्लाही । सर्लाहीको चुरे पर्वतीय शृङ्खला क्षेत्रका बासिन्दालाई वडा कार्यालयसम्म आउन दुई दिनलाग्ने गरेको छ । उनीहरू एउटै खोला १७ जँघार तर्दै भिरपाखा एवं विकट बाटो पैदल यात्रापछि लालबन्दी–१३ को वडा कार्यालयमा आउने गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सडक, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित रहेको चुरे भेगका विकट बस्ती नगरपालिकामा परे पनि आफूहरुले नगरवासी भएको महसुस नै गर्न नपाएको लालबन्दी–१३ कर्मदण्डीका दिलबहादुर स्याङ्तानको भनाइ छ ।

स्याङ्तानको भनाइलाई समर्थन गर्दै स्थानीय पदमबहादुर वलले भने, “बालबालिका, वृद्घवृद्घा तथा गर्भवतीलाई उपचारको खाँचो पर्दा मुस्किल बेहोर्नुपरेको छ ।”

चुरे पर्वतीय शृङ्खलामा अवस्थित पत्थरकोट, ईश्वरपुर, हरिवन तथा बागमती नगरपालिकाको उत्तरी भेगका बासिन्दा बाटोघाटोको अभाव एवं बाटोघाटोको दूरावस्थाका कारण उनीहरूले सास्ती बेहोर्न बाध्य भएका हुन् ।

लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण वैद्यले मोचे, कपासे, कर्मदण्डीजस्ता गाउँका बासिन्दालाई वडा कार्यालयसम्म आउन दुई दिनसम्मको समय लाग्ने गरेको बताए । उनले मोचे गाउँदेखि चुरे पर्वतीय शङ्खलाको कठिन गोरेटो छिचिल्दै २० किलोमिटर लामो दूरीको पैदलयात्रापछि गाउँले वडा कार्यालयसम्म आउने गरेको बताए ।

उनका अनुसार विकट बस्तीबाट कार्यालयमा आएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने गरिएको छ । उनले भने, “गाउँमा आगलागी हुँदा दमकल सुविधा तथा बालबालिका, वृद्घवृद्घा तथा गर्भवतीलाई आवश्यक पर्दा एम्बुलेन्स सेवा छैन ।”

त्यस्तै, लालबन्दी नगरपालिका–१४ नम्बर वडामा पर्ने नारायणखोलालाई सर्लाहीको ‘कर्णाली’ भन्ने गरिन्छ । यहाँको कपासे, मटरदोभान, सताप्स, तीनतल्ले, ठूलो घुमाउने, सानो घुमाउने तथा महेशथान बस्तीका बासिन्दा पनि वर्षौंदेखि बाटोघाटोको समस्याका कारण हैरान छन् ।

नारायणखोलाको क्षेत्रमा पर्ने कपासे बस्तीका कृष्णबहादुर वाइबाले हिउँदभन्दा वर्षायाममा गाउँलेले सास्ती बेहोर्नुपरेको गुनासो गरे । उनले मटरखोला, डायनीखोला र नारायणखोलाको पानी लखनदेहीमा मिसिने भएकाले खोला तर्न नसकिने बताए । उनले भने, “पुलपुलेसा तथा बाटो नभएकाले चुरेको खोँच र एउटै लखनदेहीखोला १७ पटकसम्म तरेर वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता छ ।”

ईश्वरपुर नगरपालिकाको वडा नं १२, लालबन्दी नगरपालिकाको वडा नं १२, १३, १४ र १५, हरिवन नगरपालिकाको वडा नं १ र बागमती नगरपपालिकाको वडा नं १ मा चुरे भेगका विकट बस्ती रहेका छन् । वडा कार्यालयसम्म आउन घण्टौँ लाग्ने भएकाले चुरेवासीलाई जन्मदर्ता, नागरिकताको सिफारिस, विवाहदर्ता, मृत्युदर्तासहित वडाबाट प्रदान हुने अन्य सेवा लिन सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया