बुधबार, चैत ११, २०८२

बजेट अभावले सुरु भएन मालपोत र नापी कार्यालयको सेवा

मेरोन्यूज २०७९ फागुन ९ गते २१:२७

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सञ्चालन भएको छैन । गत असोज ९ गते आठविसकोट नगरपालिका लगायतका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले राडीमा मालपोत तथा नापीको शाखा कार्यालय स्थापना गरिएको थियो ।

ती कार्यालयहरुमा उद्घाटन भएकै दिनदेखि ताला लागेको छ । कार्यालय सञ्चालनका लागि कार्यालय प्रमुख पनि तोकिएको छ । तर, लामो समयसम्म कार्यालय सञ्चालनमा आउन सकेको छैन । मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी नीलधोज पाण्डे र नापी कार्यालयको प्रमुखको जिम्मेवारी तुलसीराम भुसाललाई दिइएको थियो ।

प्रमुखसमेत तोकिए पनि कार्यालयहरुबाट हुने सेवा भने सञ्चालनमा आउन सकेका छैनन् । कार्यालय सञ्चालनका लागि विभागबाट बजेट नआउँदा कार्यालयबाट सेवा दिन नसकिएको मालपोत शाखा कार्यालय आठविसकोटका प्रमुख पाण्डेले जानकारी दिए ।

“विभागमा सोध्दा अर्थ मन्त्रालयबाट बजेट आएको छैन भन्छन्”, प्रमुख पाण्डेले भने । बजेट अभावका कारण कार्यालयमा आवश्यक सामग्री खरिद गर्न नसकिएका कारण पनि कार्यालय सञ्चालनमा समस्या भएको प्रमुख पाण्डेको भनाइ छ ।

आठविसकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि जिल्ला मालपोत कार्यालयले विभागमा पत्र पठाएपछि कार्यालय स्थापना भएको र अहिले सेवा बन्द रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख ओमप्रकाश खत्रीले बताए । उनका अनुसार आठविसकोटका नागरिक अहिले पनि सेवा लिनका लागि जिल्लामै आउने गरेका छन् ।

आठविसकोटमा कार्यालय स्थापना भएको भए पनि सदरमुकाम पुग्नु पर्ने बाध्यताको अन्य नभएको वडा नं १० का सुरेन्द्र ओलीले बताए । कार्यालय स्थापना भएको बेला नजिकै मालपोत तथा नापीको काम हुने भयो भनेर खुसी भएका सर्वसाधरण कार्यालयहरुबाट काम नुहँदा दुःखी भएका छन् ।

गत वर्ष २०७८ चैत १७ गतेको मन्त्रिस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महत्तरीको गौशाला र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया