शुक्रबार, वैशाख १८, २०८३

रोजगार बन्दै कारागारका कैदीबन्दी

मेरोन्यूज २०७९ फागुन १७ गते १९:०१

सुर्खेत । सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् ।

Advertisement
NiccNicc

कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’

आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए । एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पुर्‍याउन गाह्रो भएको उनले बताए।

‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ।

कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए ।

‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने । यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ ।

कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन् । आमाको संरक्षणमा ३ बालबालिका रहेका छन् ।

प्रतिक्रिया