आइतबार, वैशाख ७, २०८२

सन्दर्भ : गिरिजाप्रसाद कोइराला स्मृति दिवस

गिरिजाप्रसाद को हुन् ? के होइनन् ?

गिरिजाबाबु नेपाली राजनीतिका गेम चेन्जर होईन, कोर्स चेन्जर हो

जयप्रकाश आनन्द २०७९ चैत ७ गते २२:१५

मैले हिजो गिरिजा बाबुको स्मृति दिवसको मौकामा एउटा पोष्ट गरेको थिए। उहाँसंगका मेरा २/४ तस्वीरहरू। यसमा केही प्रतिक्रिया आएको छ । केही सान्दर्भिक तथा कतिपय अत्यन्त अतिरंजित प्रकारका। मलाई लाग्छ, पुराना कुराहरू ‘तथ्य’ हरूको संयोजन तथा प्रमाणका साथ लेखिंदा इतिहास हुन्छ। असत्य, अर्ध सत्य एवं अज्ञानतालाई टेकेर भावावेशमा लेखिएका कुराहरू प्रोपेगण्डा मात्र हुन्छ। हामी सबैले आ-आफ्ना लेखाईका स्वमूल्यांकन गर्नु नै हुनेछ। गिरिजा प्र. कोईराला वा समकालिन राजनीतिज्ञहरू कोही त्रृटी रहित देवता त हैनन्। कुरा हरेक व्यक्तिको योगदान, तिनको गुण र दोषको मात्राको हो ।

हाम्रो अभिमानी समाज, अग्रजहरूको स्तुति गर्ने समाज नायकहरूको योगदानमा कतिको कृतज्ञ छ त ? हामी समग्रमा अरूको योगदानहरूलाई कतिको अभिनन्दन गर्छौ त ? यता पनि ध्यान जानु पर्ने हो। गिरिजाबाबुको बारेमा प्रतिक्रियाहरु लेखिदा कतिपय बन्धुहरूले यता ध्यान नपर्याएको जस्तो लाग्छ।


मन मानेन। फेरी आज यो लेख लेखि यहाँ राखेको छु। गाली गर्नोस् तर बुझ्नु पर्ने हुन्छ कि गिरिजाबाबु नेपाली राजनीतिका गेम चेन्जर होईन, कोर्स चेन्जर हो।
ल त मैले यसो लेखे है –

तरूणको सम्पादक चक्र बास्तेला र सुशील कोईराला हुनुहुन्थ्यो। तर, पहिलो सम्पादकीय बीपी कोईराला स्वयंले लेख्नु भएको थियो।

कलकत्तामा रहनु भएका सूवर्ण शम्सेरजीसंग बीपीको कार्यनीतिक फरक धार बनेको थियो। यदि नेपाली काँग्रेसले व्यवस्थामै परिवर्तनको नेतृत्व गर्न सकेन भने यस पार्टीको कुनै औचित्य रहदैन। बरू बिघटन गरिदिए हुन्छ । पंचायतको यथास्थितिलाई समर्थन भनेको त त्यस राजनीतिक व्यवस्थामा केही मानिसहरूको स्थानलाई सुरक्षित गर्नु मात्र हुनेछ। बस् यतिको लागि ऐतिहासिक नेपाली काँग्रेसलाई कदापि पनि उपयोग गर्नु हुन्न् भन्ने बीपीको मान्यताले पार्टी भित्र अलग धार जन्माएको थियो।


त्यसैको स्पष्ट अभिव्यक्ति दिनका लागि मुखपत्र “तरूण”को पहिलो अंकको सम्पादकीय बीपी स्वयंले लेख्ने कुराबाट प्रवासमा ठूलो कौतुहलता जन्माएको थियो- के लेख्नु हुन्छ भनेर । अबको बाटो के हुने ?

“मेरो बोल्ने मुखलाई न थुन, नयाँ नेपालको अभिव्यक्ति दिनेछ मेरो मुखले।”
“मेरो कलमलाई न समाऊ, नयाँ नेपालको मार्गचित्र कोर्ने छ मेरो कलमले।”
मेरो हिडने गोडाहरूलाई न छेक, नयाँ नेपालको बाटो पैल्याउने छ मेरा गोडाहरूले।”

राजनीतिक दलको स्वतन्त्रता र बहुदलीय संसदीय व्यवस्थाको आबस्यकता अपरिहार्य हो भने कुराको सरस अभिव्यक्ति दिने यी पंक्तिहरूका साथ सम्पादकीय लेखि प्रकाशित भएको “तरूण”ले एकै पटक पुरै देशका तन्नेरी युवाहरूलाई स्पन्दित गरेको थियो। दिग्भ्रमिता हटेको थियो। यसबाट नेकामा राजासंग सम्झौताको लाईन कमजोर हुन गयो। हजारौ मानिसहरू जेलमा कोचिएका थिए । लामो जेल बसाईलाई निरूद्देश्य ठान्न लागेका त्यसबेला जेलहरूमा रहेका नेता, कार्यकर्ताहरूमा एक्कासी आफुहरू निश्चित उद्देश्यका लागि थुना परेको र अझै लामो समयसम्म झ्यालखानामा रहनु परे पनि रहने उत्साह जागेर आएको थियो। वास्तवमा सूवर्णजी स्वयं र उहाँका साथमा रहेका नेता कार्यकर्ताहरू पनि व्यवस्था परिवर्तनका लागि उत्तिकै प्रतिवद्ध हुनुहुन्थ्यो। तर, दुई शिर्षस्थ नेताका बीचको स्पष्टता सबैले चाहेका थिए।

ती दिनलाई सम्झेर चक्र बास्तोलाजीले मलाई भन्नु भाथ्यो-“बुझ्यौ ! केही पंक्तिहरूको ति लेखाईले त मरेको मुर्दाहरूमा पनि श्वास जगाई दिएको थियो । बास्तवमा ति पंक्तिहरू मात्र थिएनन्-नेपाली काँग्रेसको नेपाली समाजका बारेमा प्रतिवद्धता तथा परिवर्तनका सपना पो झल्किएको थियो बीपीको लेखाईबाट !” चक्रजीको मान्यता थियो, बीपीले नेपाली काँग्रेसको परम्परागत धारणाहरूमा फेरी पनि प्रतिवद्धता जनाउनु भयो । राजासंगको सहयोगको वातावरण बनाउदै जाने सोच क्रमश: मथ्थर भएर गयो।

राजनीतिमा अडान भनेकै सुस्पष्ट यात्रको शुभारम्भ हो।
राजनीतिमा सपना भनेकै परिवर्तनका कार्यक्रमहरू हुन्छ। अग्रगामी परिवर्तनका। बृद्ध बाबुले आफुले रोपेको बाली भित्र्याउन नपाउदै परलोक गएको खण्डमा छोराले ती बाली घर भित्र्याउनुलाई राजनीतिक अर्थमा सपना पुरा गरिएको मानिदैन। राजनीतिका सपना भनेको सदैव यथास्थितिलाई वास्तविक परिवर्तनमा रूपान्तरित गर्नु हो।

गिरिजा प्रसाद कोईराला बि.स. २०३७ को जनमत संग्रहपछि नेपाली राजनीतिमा सर्वथा गलत अध्ययन गरिएको व्यक्ति पनि हो। राजा बिरेन्द्रले “म पनि बिकल्प खोज्छु, तिमी पनि खोज” भनेको कुरालाई गिरिजाप्रसाद सुस्तरी दरबारको धारमा गयो भनि योजनावद्ध चर्चा गरियो। बि.स. ०४२ को सत्याग्रह हुनु पूर्व जनजीविकाको समस्याहरूलाई आधार मानेर राजा समक्ष पेश गर्न आम जनताको हस्ताक्षर संकलन गर्ने उहाँको अग्रसरतालाई “प्रजातन्त्रको भीख माग्न कोईरालाको विन्तिपत्रे राजनीति” भनियो। यस्ता घटनाहरूको स्मरण लामै हुन्छ।

शाही सत्ताकालमा संसदको पुनर्स्थापनको कोईरालाको अडानलाई अधिकांशले अभेद्य पर्वत उपरको प्रहार भनेको हामीले बिर्सेका छैनौं। जीवनको अन्तिम कालमा पनि उहाँलाई राष्ट्रपति पदको लोभी नै भनियो। तर, २०४६ चैत्रमा यदि गणेशमान सिंहको अडान नरहेको भए त्यसबेला संसदीय व्यवस्था आउने थिएन, यसरी नै संसद पुनर्स्थापनको मागमा गिरिजाप्रसाद कोईरालाको अविचलित अडान नरहेको भए शायद राजनीतिको मोड अन्यत्रै मोडिने थियो होला।

आज यो तथ्य धेरैलाई अपत्यारिलो लाग्न सक्छकि गिरिजा प्रसाद कोईरालाले योजना मिलाएरै मुलुकमा गणतन्त्रको घोषणा गराउनु भएको हो। यो उहाँको अभिष्ट थियो । शाही सत्ताको समयमा दरबारमा आयोजित एक बैठकमा राजा ज्ञानेन्द्रले बद्री मंडलबाट उहाँको बेइज्जत गराए पश्चात सांझपख उहाँको अपमानबोधलाई आफ्नै आँखाले देख्नेहरू ठम्याउनेहरूले मात्र त्यसको गूढ थाहा पाउन सक्छ। नभएको गणतन्त्रको एजेण्डा कहाँबाट आयो भनी सात दलको सात सूत्रीय समझदारीमा आँखा घोत्ल्याउनेहरूले यो थाहा पाउन सक्दैन।

श्री ३ को शासन कालमा त्रिपुरेस्वर धर्मशालाबाट गुन्द्रीमा राखिएको पिताजी कृष्ण प्रसाद कोईरालाको मृत देहलाई तानेर निकाल्नु परेको दिन गिरिजाप्रसाद कोईरालाको मनमा उठेको एक प्रश्न कि श्री ३ के अर्थमा राजा होईन ? र, प्रजातन्त्र स्थापनाको लामो संघर्षमा धेरै मानिसहरूको राजाको निर्देशनमा नृशंसतापूर्वक हत्या गरिंदा श्री ५ हरू के चरित्रगत तथा आधारभूत फरकले श्री ३ होईनन् ? दरोगरी गिरिजा बाबुको मनमा घर बनाएर बसेको यस प्रश्नको जवाफ गणतन्त्रको घोषणा गर्न लगाएर उहाँले पाउनु भएको थियो।


प्रतिक्रिया