प्रकाशकीय : मेरोन्यूज तेस्रो वर्षमा प्रवेश

मेरोन्यूज डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल पत्रकारिताको हाम्रो यो अभियानमा जोडिनु भएका हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखकलगायत सबैसँग यो खुसी साट्न पाउँदा हामी उत्साहित भएका छौँ ।
दुई वर्षअघि आजकै दिन अर्थात् ११ चैत २०७७ मा तपाईंहरूमाझ आउँदा हामीले हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रै हुनेछ भनेका थियौँ । यो दुई वर्षमा हामीले तपाईंको अटुट माया र सद्भाव पायौँ । तपाईंहरूको न्यानो माया, उत्प्रेरणा, विश्वास र खबरदारी हाम्रा अमूल्य आर्जन हुन पुगेको छ । आगामी दिनमा पनि हामी तपाईंहरूको माया र खबरदारीको अपेक्षा गर्दछौँ ।
संविधान निर्माणपछिको दोस्रो आम निर्वाचनको चुनावी वर्ष हामीले सकेका छौँ । ताजा जनादेशपछि स्थिरता र समृद्धिको दिशामा देश जाने अपेक्षा गरेका थियौँ । तर, जनादेश अस्थिर हुने आएको छ । राजनीतिक दलहरूलाई सहकार्य गरेर राज्य सञ्चालन गर्न र त्यसअनुरुप अगाडि बढ्न जनताले म्याण्डेट दिएका छन् । तर यसबीच, राजनीतिक दलहरूमा देखिएको अराजनीतिक प्रतिस्पर्धा, त्यसले समाजमा परेको घातक टकराव र अनपेक्षित भूराजनीतिक भूमरी सतहमा देखा परेको छ ।
नेपाली जनताको दशकौँदेखिको संघर्ष, त्याग तथा बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पायौँ । संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता पायौँ । फेरि पनि यो युगीन परिवर्तनमा प्रश्नहरू विभिन्न जोड र कोणबाट उठ्न थालेका छन् ।
परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत विकासको पक्षमा अहोरात्र पहरेदारी सञ्चार संस्थाले खेल्नु पर्छ भन्ने हाम्रो प्रष्ट मत छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ । राजनीतिक स्थायित्वसँगै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हाम्रो पनि कार्यभार हो । हामी व्यावसायिक पत्रकारिताको माध्यमबाट यो राष्ट्रिय आकांक्षामा रचनात्मक योगदान पुर्याउन कुनै कसर बाँकी राख्ने छैनौँ ।
सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमीसँगै पत्रकारिताको चित्र र चरित्र बदलिएको छ । दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा हाम्रा सञ्चार माध्यम होइनन्, प्रविधि र पाठक हुन् भन्ने तथ्य स्थापित भएको छ ।
तर, प्रविधिको दुरुपयोग हुँदा विश्व जगतमा भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको जगमा लोक रिझ्याउने राजनीतिक परिपाटी चलेको छ । त्यही राजनीतिक परिपाटीकै कारण सञ्चार क्षेत्रमाथि प्रश्न उठेको छ । आलोचनाको गति तीव्र बनाइएको छ ।
नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छाना गर्ने काम हुन थालेको छ ।
हामीलाई यो भन्न संकोच छैन कि- सभामुखजस्तो गरिमामय पदबाट सञ्चार क्षेत्रमाथि अमर्यादित प्रश्न तेर्साइएको छ । पत्रकारिताालाई नै भर्याङ बनाएर मुलुकको उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्तिले सञ्चार क्षेत्रलाई तारो बनाएका छन् । यसले समग्र सञ्चार क्षेत्रमाथि चुनौती थपेको हामीले ठानेका छौँ । यो चुनौतीका बीच विश्वसनीय समाचार र सर्वपक्षीय विचारको सम्प्रेषण गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । यो मूल मर्म हामीले भुलेका छैनौँ । यसमा हामी कहिले विचलित र डगमगाउने छैनौँ ।
दुई वर्षअगाडि हामी हिँड्न खोजिरहँदा मुलुकको अर्थतन्त्र कोरोना कहरबाट चौपट अवस्थामा थियो । क्रमशः त्यसमा सुधार हुने अपेक्षा थियो । तर, अहिले पनि कोरोना कहरबाट सिर्जित समस्या, मुलुकमा देखा परेको आथिर्क मन्दी, रुस-युक्रेन द्वन्द्वले अर्थतन्त्रमा पारेको प्रभावलगायतका बहुआयामिक संकट यथावत छन् । यी समस्याले सञ्चार क्षेत्रको भविष्यमा प्रश्न उठेको छ । सञ्चार संस्था र कार्यरत सञ्चारकर्मीको अवस्था के होला ? भन्ने प्रश्न यथावत छ । तर यी संकटका बीच हामीले हाम्रो उत्साह मर्न दिएका छैनौँ ।
हरेक विषयको परीक्षा चुनौतीबीच हुन्छ । अनेकौँ संकटका बीचमा पाइला चाल्न खोज्नु आफैमा चुनौतीपूर्ण थियो । र, त्यो चुनौतीको सामना गर्दै आजका दिनसम्म तपाईंहरूको साथमा उभिन सक्नु हामीले ठूलै उपलब्धी ठानेका छौँ ।
यो अवधिसम्म आइपुग्न हामीसँग जोडिएका सबै सहकर्मी साथीहरूको अथक मेहनत र परिश्रम आफ्नै ठाउँमा छ । साथमा तपाईं पाठकहरू, विज्ञापनदाताहरू, लेखकहरूको हौसला र साथ पनि सँगै जोडिन पुगेको छ ।
सूचना हरेक ठाउँमा छ । त्यसलाई सही र वस्तुनिष्ठ ढंगले हेर्ने, समाजलाई ठोस् धारणा पस्किने संस्थाहरू अपेक्षाअनुसार बन्न बाँकी छ । मेरोन्यूजलाई अझै एउटा पूर्ण र सम्पूर्ण रुपमा तपाईंहरूको सारथि बनाउने हाम्रो प्रयास जारी छ ।
समाचार सामग्रीहरूको विविधतासँगै थप व्यावसायिक र स्तरीय बनाउँदै लैजाने हाम्रो लक्ष्य कायमै छ । हामी आवाजविहीन र सिंहदरबारबीचको पुल बनेर बहसका चौतारी बन्ने लक्ष्यमा छौँ । त्यसका निम्ति विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ ।
अन्त्यमा,
छोटो अवधिमा हामीप्रति अगाध माया र सद्भाव देखाउँदै साथ दिनु हुने, विश्वास गर्नु हुने र भरोसा दिनुहुने पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, लेखकलगायत सबैमा तेस्रो वर्ष प्रवेशको अवसरमा खुशी र शुभकामना बाँड्न चाहान्छौँ ।
धन्यवाद ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया