बुधबार, वैशाख ९, २०८३

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

मेरोन्यूज २०७९ चैत १४ गते १९:१४

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।

Advertisement
NiccNicc

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ” मन्त्री मोदीले भने ।

मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने समेत बताए । “संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ” उनले भने ।

मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत बताए । “सबैका सुझाव, सल्लाह लिएर सबैका भावना समेटेर ऐन ल्याउनुपर्छ भन्ने हिसाबले मैले सबै सरोकारवालासँग छलफल पनि गरे, अहिले ऐन अगाडि बढिसकेको छ” उनले भने ।

मन्त्री मोदीले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको समेत बताए । निमित्तमार्फत् स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुवात गरेको समेत उनले बताए ।

आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उनले भने, “अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौँ ।”

मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरुलाई निर्देशन दिए । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि मात्रै राजनीतिमा लाग्न समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया