तमानखोला गाउँपालिकाले थाल्यो बाँझो जमिनमा फलफूल खेती

बागलुङ । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ ।
बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो ।
चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनले बताए । पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको छ ।
खासगरी बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको अध्यक्ष बुढामगरले जानकारी दिए ।
अध्यक्ष बुढामगर भन्छन्, ‘यस वर्षदेखि बाँझो जमिनलाई उपयोग गर्ने गरी फलफूलका बिरुवा लगाइएको छ, वडा नं ४ बाट सुरु गरेका छौँ, अर्को वर्षदेखि पालिकाभरि नै लगाउने योजना छ, आफ्नो बारीमा लगाउने कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिइएको छ, यसको प्रतिफल आउन केही वर्ष लाग्न सक्छ तर यसले स्थानीयको वातावरणलाई स्वच्छ राख्नसमेत मद्दत पुग्ने छ ।’
व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएको उनको भनाइ छ । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको बुढाले बताए ।
हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए । पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा उपलब्ध गराइसकिएको भन्दै अब बर्खे सिजनमा लगाउने बिरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाइ छ ।
‘अमिलो र फलफूल उत्पादन हुनसक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ,’ उनले भने, ‘यहाँका केही कृषकले दुई वर्ष पहिले लगाएको स्याउको बिरुवा हुर्किसकेको र अबको एक–दुई वर्षमा उत्पादन दिन सक्ने देखिएको छ, यसले गर्दा पनि यहाँको हावापानीमा फलफूल खेती राम्रो हुने सम्भावना धेरै छ ।’ (रासस)
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया