तनहुँ- १ उपचुनाव
तनहुँमा गोविन्द भट्टराईले जिते किसान श्रेष्ठ मन्त्री बन्ने !
चुनावपछि किसान श्रेष्ठलाई मन्त्री बनाउने र हरिवहादुर चुमनलाई गण्डकी प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री दिने भद्र समझदारी

काठमाडौं । तनहुँको डुम्रे बजारमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बुधबार गोविन्द भट्टराई चुनाव जिते मन्त्री बन्ने चर्चा चल्यो । त्यस्तो चर्चा अरु नेताहरुले चलाएका होइनन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बन्ने चर्चा गरे ।
१० वैशाखमा हुन लागेको तनहुँ १ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द उम्मेदवार छन् । एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस छाडेर स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् ।
चुनावमा गोविन्दलाई रास्वपाका स्वर्णिमले आच्छुआच्छु पार्ने देखेपछि बुधबार आयोजित चुनावी सभामा कांग्रेस सभापतिदेखि प्रधानमन्त्रीसम्मले गोविन्द भट्टराईलाई तनहुँबासीले जिताएर पठाए मन्त्री बनाउनेसम्मका चर्चा गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराई रामचन्द्र पौडेल जत्तिकै योग्य भएकाले जिताएर पठाएर मन्त्री बन्ने प्रसंग निकालेका थिए । देउवाले चुनावी सभामा भनेका थिए, ‘तपाईंहरूले रामचन्द्र जीलाई जिताएर पठाउनु भयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’
देउवापछि सभालाई सम्वोधन गरेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि देउवाको बोलीमा लोली मिसाए । उनले गोविन्दलाई जिताएर पठाउन आग्रह मात्रै गरेनन् । मन्त्री बनाउने जिम्मा आफू प्रधानमन्त्री भएकाले लिनेसमेत ठोकुवा गरे ।
‘तपाईहरुले रामचन्द्र जी जस्तै गठबन्धनका साझा उम्मेदवार गोविन्द रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवा जीले जिम्मा दिइसक्नु भयो । म शेरबहादुर देउवाजीसँगै छु । मन्त्री बनाउने जिम्मेवारी मेरो भएको घोषणा गर्दछु । किनकी प्रधानमन्त्री अहिले म भएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
चुनावी सभामा गठबन्धन दलका नेताहरुले मंसिरमा पनि त्यसै गरी जहाँ भाषण गर्न पुगे, त्यहीका उम्मेदवारलाई मन्त्री बनाउने बचन दिएर फर्केका थिए । ठीक त्यसैगरी तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभामा पनि प्रधानमन्त्री प्रचण्ड देखि कांग्रेस सभापति देउवासम्मले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मन्त्री बनाउने अफर जनताका बीचमा सुनाए ।
मतदाताका बीचमा गोविन्दलाई मन्त्री बनाउने अफर बाँडेर काठमाडौं फर्केका उनीहरुले काठमाडौंको बन्दकोठामा भने अर्काे खाले सहमति गरेको खुलेको छ । प्रचण्ड, देउवा, माधव नेपाललगायतका नेताहरुका बीचमा तनहुँमा गोविन्द भट्टराईले चुनाव जिते एकीकृत समाजवादीका नेता किसन श्रेष्ठलाई मन्त्री बनाउने भित्री समझदारी गरेका छन् । त्यही सहमतिका आधारमा अहिले किसन श्रेष्ठ भट्टराईलाई जिताउन तनहुँमै अडडा जमाएर खटिरहेका छन् ।
एकीकृत समाजवादी निकट स्रोतका अनुसार, यस्तो सहमति २ बैशाखमा बालुवाटारमा तीन शीर्ष नेताका बीचमा भएको हो । किसन श्रेष्ठ २०७४ सालमा अहिले उपचुनाव हुन लागेको तनहुँ १ बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका तत्कालिन वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई झण्डै ७ हजार बढी मतान्तरमा पराजित गरेका थिए ।
श्रेष्ठ त्यसवेला एमालेबाट उम्मेदवार थिए । उनलाई माओवादी केन्द्रको पनि साथ र समर्थन थियो । तर अहिले श्रेष्ठ एकीकृत समाजवादीमा छन् । उनले गत मंसिरको चुनावमा उक्त क्षेत्र रामचन्द्र पौडेललाई छोडेर बारा ४ मा चुनाव लड्न पुगेका थिए । त्यहाँ पनि श्रेष्ठले भारी मतान्तरमा चुनाव जितेका थिए । श्रेष्ठको आफ्नो गृहजिल्ला, आफुले चुनाव समेत जितेको निर्वाचन क्षेत्र समेत रहेकोले उपचुनाव हुन लागेको तनहुँ १ मा उनको आफनो ब्यक्तिगत प्रभाव बाक्लो नै छ ।
कांग्रेसले पार्टीभित्रकै विद्रोही समुह गोविन्दराज जोशी समुहलाई फकाउने प्रयास गरेपनि त्यो प्रयास सफल नभएपछि किसन श्रेष्ठलार्इ फकाउने नीतिमा पुगेको हो । जोशी समुहले यस क्षेत्रमा कांग्रेसलाई नै बागी विद्रोही उठेर तनाव दिँदै आएका छन् । गत चुनावमा पनि जोशीले स्वतन्त्र चुनाव लडेर ६ हजार बढी मत ल्याएका थिए । तर जोशीलाई कांग्रेसले फकाउन सकिरहेको छैन । त्यही भएर कांग्रेसले आफ्नो विरासत जोगाउन पनि एकीकृत समाजवादीसाग सौदावाजीमा सहमति गरेको हो ।
श्रेष्ठको पार्टी एकीकृत समाजवादी अहिले सत्ता गठबन्धनमै छ । तनहुँ १ मा उसको पनि माओवादी केन्द्रकै जस्तो उम्मेदवार छैन । कांग्रेसका गोविन्द भट्टराई नै एकीकृत समाजवादीको पनि आधिकारिक साझा उम्मेदवार हुन् । तर पनि एकीकृत समाजवादीका नेता श्रेष्ठ तनहँको चुनाव प्रचारमा नजुटेर काठमाडौंमा नै बसिरहेका थिए ।
गोविन्द भट्टराई लाई जिताउन विद्रोही जोशी समुहलाई फकाउने र विग्रेको कांग्रेसको माहोल बनाउने योजनामा सभापति देउवा लागेका थिए । उनले गोविन्दराज जोशी समुहका तर्फबाट उनका छोरा दीपकराज जोशीसँग छलफल नै गरेका थिए ।
जोशीसहितको उनको समुहमाथीको कांग्रेसले गरेको कारवाही फुकुवा गर्ने र जोशी समुहका ४ जना नेतालाई केन्द्रीय समितिमा स्थान दिने विषयमा देउवा वार्ताका क्रममा सहमत भएका थिए । तर जोशीले आफुलाई पार्टीको बरिष्ठ नेता दिनुपर्ने प्रस्ताव देउवासँग राखे । देउवाले त्यसमा भने नमानेपछि जोशी समुह अहिले गोविन्द भट्टरालाई सघाउने पक्षमा देखिदैन । जोशी समुहका नेता कार्यकर्ता स्वर्णिम वाग्लेतिर ढल्कने संकेत पाएपछि देउवाले भने जोशीसहितको कारवाही कांग्रेसले फुकुवा गर्ने निर्णय लिएका थिए । अहिले जोशीमाथीको कुनै कारवाही कांग्रेसले चलाएको छैन । तर जोशी सहज फक्किने स्थिती देखिएको छैन ।
कांग्रेसले यही बुझेर नै माओवादी र एकीकृत समाजवादीको मतलाई भने दायाँबायँ हुन नदिने थप रणनीति बनाएको हो । त्यही रणनीति बनाउन गत शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, देउवा र माधव नेपालसहितको बैठकमा एकीकृत समाजवादीका किसन श्रेष्ठलाई मन्त्री बनाउने समझदारी बनेको हो ।
देउवाकै अग्रसरतामा शनिबार एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठलाई मन्त्री बनाउने विषयमा र आइतबार गण्डकी प्रदेश सरकारमा माओवादी प्रदेश संसदीय दलका नेता हरि चुमनलाई आधा कार्यकाल मुख्यमन्त्री दिने विषयमा बालुवाटारमा छलफल भएको थियो । शीर्ष नेताहरू दाहाल, देउवा र नेपालबीच भएको छलफलमा चुनावपछि श्रेष्ठलाई मन्त्री बनाउने र चुमनलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री दिने भद्र समझदारी बनेको छ ।
चुमन तनहुँ–१ (२) बाट निर्वाचित सांसद हुन् । काठमाडौंमा रहेका श्रेष्ठ सत्ता बार्गेनिङमा कुरा मिलेपछि मात्रै तनहुँको निर्वाचनमा खटिएका छन् । माओवादी पनि मैदानमा उत्रिएको छ ।
तनहुँमा रहेका श्रेष्ठ अहिले कांग्रेसका उम्मेदवार भट्टराईको पक्षमा खरो गरी उत्रिएका छन् । उनले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेमाथी आmमणको तारो बनाउन थालेका छन् ।
एकीकृत समाजवादीका श्रेष्ठलाई कांग्रेसको भागमा परेको कोटाबाट या आम आदमी का प्रभु साह या अमरेस सिंहका लागि छटाटइएको मन्त्रालयबाट मन्त्री बनाउने समझदारी छ । तर श्रेष्ठलाई मन्त्री बन्न एउटै शर्त गठबन्धन दलका, त्यसमा पनि मुख्य प्रधानमन्त्री र देउवाको हातमा रहेको जानकारहरु वताउँछन् । त्यस्तो शर्त हो -‘उपचुनावमा गोविन्द भटटराईले जितेमात्र किसान श्रेष्ठ मन्त्री बन्ने ।
आफू मन्त्री बन्नका लागि जसरी भएपनि भट्टराईलाई उपचुनाव जिताउन त्यही भएर किसान श्रेष्ठ यतिवेला तनहुँमा आक्रामक रुपमा खटिएका छन् ।










सरकारले गठन गर्याे उच्चस्तरीय राजनीतिक संवाद समिति
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
धनुषाको शंकर जनता माविका प्रधानाध्यापक ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया